हेट नारायण रम्तेल
पुर्वकी दिदी, पश्चिमकी बहिनी भेट हुन्छ भनेर,
पटुकी कसी, घुम ओढी आएँ रोपार बनेर । साभार
नेपाल कृषि प्रधान मुलुक हो । नेपालमा सवभन्दा बढी उत्पादन हुने अन्न धान हो । धान नेपाली समाजमा सवभन्दा मिठो र सम्मानित अन्न हो । आज पनि हाम्रो घरमा आउने पाहुना, विरामी, बिवाह लगातयका भोजभतेरमा धानको चामलको खाना प्रयोग गरिन्छ । धानको चामलबाट बन्ने खाना लगायतका परिकार नरम हुने भएकाले विरामी, जेष्ठ नागरिक, बालबालिका सबैलाई मन पर्दछ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का अनुसार नेपालमा धानका स्थानीय जात करिव २३०० प्रकारका रहेका छन् ।
सन् २०२१ मा भएको श्रमशक्ति सर्वेक्षणका अनुसार नेपालमा ५०.४ प्रतिशत मानिसहरू कृषि व्यावसायमा संलग्न रहेका छन् । चालु आर्थिक वर्षमा कुल ग्राहस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४.१ प्रतिशत रहने अनुमान गरिएको छ । कृषि प्रधान भनेर चिनिएको हाम्रो मुलुकमा आन्तरिक उत्पादनले धान्न सकेको अवस्था छैन। आ.व. ०७९∕०८० मा ५५ करोड ८२ लाख ४५ हजार के.जी. धान आयात भएको अनुमान छ । यसले मुलुक खाद्यान्न संकट तर्फ उन्मुख छ भन्ने पुष्टि गर्दछ ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । नेपाल सरकारको विसं २०६१ मङ्सिर २९ को घोषणाले प्रत्येक वर्षको असार १५ लाई धान दिवस मनाउने निर्णय भएको थियो । नेपालमा २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउन थालिएको हो । आज २० औँ धान दिवस “जलवायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ मनाइँरहेका छौ ।
विश्वका झण्डै चार प्रतिशत जनसङ्ख्याको आधारभूत खाद्यान्न चामल रहेको अनुमान छ । संसारमा झण्डै १७ करोड हेक्टर जमिनमा धानखेती हुन्छ । चीन सबैभन्दा धेरै धान उत्पादन गर्ने देश हो । यसै गरी भारत, इन्डोनेशिया, बङ्गलादेश, भियतनाम प्रमुख धान उत्पादन गर्ने राष्ट्र हुन् । नेपाल विश्वको १७ औँ धान उत्पादन गर्ने देश रहेको अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरीको) तथ्याङ्कमा उल्लेख छ । संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपाल हो । सो स्थान नेपालको जुम्ला जिल्लाको छुमचौर हो । नेपालमा सबैभन्दा धेरै धान उत्पादन झापा जिल्लामा हुन्छ । मनाङ र मुस्ताङ बाहेक सबै जिल्लामा धान खेती हुन्छ ।
असारको समय मानो खाएर मुरी उत्पादन गर्ने समय हो । असार १५ का दिन एक फेर हिलो टेक्नुपर्छ भन्ने मान्यता नेपाली समाजमा छ । यो दिनलाई रोपाई पर्व ∕ रोपाईं जात्राका रुपमा मनाइन्छ ।
धान रोप्ने समयमा खडेरी तथा वाडी पहिरो आउनु, गाउँबाट शहरमा हुने वसाईसराई, युवा जनशक्ति पलायन, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, केही भुभागमा आकासे खेतीमा निर्भरता र सिँचाइको व्यवस्था नहुनु, जग्गाको खण्डीकरण, उन्नत जातका विउविजन, मलखाद तथा अनुदान नहुनु , धानखेतीमा लाग्ने रोगको नियन्त्रण नहुनु, धान भित्र्याउने समयमा असिना हावाहुरी आउनु लगायतका समस्या धान खेतीमा देखिएका ज्वालन्त समस्या हुन् ।
धान उत्पादन वृद्धि लागि मुलतः तराई क्षेत्रमा सिचाईको प्रवन्ध गर्नुपर्छ । मधेस प्रदेश पुर्ण रुपमा तराई क्षेत्र भए तापनि सिचाईको अभावले धान उत्पादन न्युन रहेको छ । पहिलो प्राथमिकतामा मधेश प्रदेशको सिचाईका लागि ठुला आयोजना तत्काल ल्याउने नीति अवलम्वन गरेर युवालाई कृषिमा भित्र्याउनुपर्छ । यो अभियान मुलुकका सवै प्रदेशमा समेत क्रमस विस्तार गर्दै जाने नीतिको अंगिकार गर्नुपर्छ ।
गाउँबाट साना तथा ठुला सहरमा बसाईसराईको लर्को रोक्नका लागि स्थानीय सरकारले धान बाली तथा कृषि व्यबसाय प्रवर्धनका सृजनात्मक कार्यक्रम ल्याउने र युवालाई कृषि व्यबसायमा टिकाउने कार्य गर्नुपर्छ । हाल संघीय सरकारले धान, गहु दुध र उखुमा न्युनतम समर्थन मुल्य कायम गरेको छ । तर यसको लाभ मुलुकभरका कृषकले पाउन सकेको छैनन् । यसका लागि स्थानीय सरकारले पालिका भित्र उत्पादन हुन अन्न, तरकारी, फलफुल तथा यसै प्रकृतिका अन्य नगदेबालीमा समेत न्युनतम समर्थन मुल्य कायम गरी बजार प्रवर्धन गरे स्तानीय कृषि उपजको उत्पादनमा वृद्धि हुने सुनिस्चित छ ।
धानखेती योग्य जमिनमा आज दिनानुदिन वजारीकरणका लागि घडेरीको योजनाहरू वनेका छन् । खेती योग्य जमिनमा मौलाएको वजार विकासलाई निरुत्साहित गरी वजारी क्षेत्र र कृषि भुमिको बिभाजन गर्न आवश्यक छ । यसका लागि सुख्खा क्षेत्रमा बजार बिस्तारको नीति कडाईका साथ लागु गर्नुपर्छ ।
पहाडी क्षेत्रमा समेत ठुलो मात्रामा धानको खेती हुने गर्दछ । पहाडमा खेत भिरालो जमित गरा भन्दा काल्ला ठुला हुने खेती गर्न श्रम बढी लाग्ने हुनाले किसान उत्साहित हुन सकेका छैनन् । यसका लागि गरा निर्माण कार्यमा अनुदान दिने र खेतीयोग्य जमिनको विस्तार गर्न सकिन्छ । यसले उत्पादन बृद्धिमा उल्लेख्य योगदान गर्दछ ।
धान खेती हुने सवै जमिनमा धान अनिवार्य रोप्न पर्ने, खेतलाई वाँजो छोड्न नपाउने तर्फ अव स्थानीय सरकारका वडाले नै निगरानी गर्ने कार्य गर्न पर्छ । यसका साथै चैते धान उत्पादन हुने जमिनमा व्यापक रूपमा धान खेती विस्तार गर्न सके नेपालमा हुने धान आयातलाई केही मात्रामा प्रतिस्थापन गर्न सकिन्छ ।
धान उत्पादक कृषकलाई सम्मान, समयमा मल तथा विउको उचित प्रवन्ध, स्थानीय सरकारले नै धान लगायतका स्थानीय उत्पादनको वजार व्यवस्थापनका कार्य गरी कृषकमा उत्साह सृजना गर्नुपर्छ । नेपाली कृषकलाई साथ सहयोग र भरथेग गर्ने अभिभावकको आवश्यकता खड्किएको छ । यो अभिभावकत्व स्थानीय सरकारले गर्नु पर्छ ।
अन्त्यमा, धान नेपालको मुल अन्नवाली हो । यसको उत्पादनमा आएको ह्रासलाई रोक्न संघ, प्रदेश र स्थानीय सरकारले कृषि पेशलाई सम्मानित पेशको रुपमा स्थापित गर्दै स्थानीय स्तरदेखि नै सुपरजोन प्रकृतिका कार्यक्रम स्थापनाको अभ्यास सुरू गर्नुपर्छ । युवा जनशक्तिलाई वैदेशिक रोजगारको विकल्प कृषि हो भन्ने मान्यता स्थापना गर्ने तर्फ स्थानीय सरकार लाग्नुपर्छ । कृषि व्यवसायलाई सम्मान योग्य वनाउने तर्फ हामी सबैको योगदान अनिवार्य सर्त हो । कृषि व्यावसायको विस्तार पिडामुलक वैदेशिक रोजगारीको विकल्प मात्र होइन नेपाली समाजमा रहेको मौलिक सामाजिक वन्धन टिकाउने आधार समेत हो ।
लेखक- निजामती सेवामा संलग्न हुनुहुन्छ ।


1 Comment
Pingback: धान दिवस समाज वचाउने आधार | Bishow Nath Kharel