काठमाण्डौ । रोयल च्यालेन्जर्स बैंग्लोर इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ। रोयल च्यालेन्जर्स सन् २०१६ पछि पहिलोपटक फाइनलमा पुगेको हो ।
बिहीबार रातिको पहिलो क्वालिफायरमा पन्जाबमाथि ८ विकेटको फराकिलो जित निकाल्दै बैंग्लोरले फाइनलमा स्थान बनाएको हो।
सन् २००८ मा आईपीएलमा डेब्यु गरेको बैंग्लोरले सन् २०११ र २०१६ मा फाइनल खेलेपनि दुवै संस्करण उपविजेतामा सिमित बन्न पुगेको थियो। पञ्जावले दिएको १ सय २ रनको लक्ष्य बैंग्लोरले १० ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। बैंग्लोरका लागि ओपनर फिल साल्ट ५६ र कप्तान रजत पाटिदार १५ रनमा अविजित रहे।
ओपनर साल्टले २७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। विराट कोहली १२ र मयंक अग्रवाल १९ रनमा पेभेलियन फर्के।
त्यसअघि मल्लापुरस्थित महाराजा याधावृन्द सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बैंग्लोरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पञ्जावले १४.१ ओभरमा १ सय १ रन बनाउँदा अलआउट भएको हो।
खराब ब्याटिङ गरेको पञ्जावका लागि माक्युर्स स्टोइनिसले बनाएको २६ रन नै सर्वाधिक रह्यो। प्रभिसमरन सिंह र अज्मातुल्लाह ओमारजाइले समान १८ रन थपे भने अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
पञ्जावलाई सस्तैमा रोक्न बैंग्लोरका जस हेजलवुड र सुयस शर्माले समान ३ विकेट लिए। यस दयालले २ विकेट झारे। भुवनेश्वर कुँवर र रोमारियो सेफर्डले समान एक विकेट आफ्नो नाममा गरे।
पराजित भएको पञ्जावले अब फाइनल पुग्न अझै एक मौका पाउनेछ। पञ्जावले दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ।
एलिमिनेटर खेलमा शुक्रबार गुजरात टाइटन्स र मुम्बइ इन्डियन्स भिड्नेछन्।
खेल आज राति पौने ८ बजेबाट हुनेछ।

