काठमाण्डौ । जापानले आफ्नो इतिहासमै पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ। मंगलबार संसद्को तल्लो सदनबाट अनुमोदन भएपछि सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)की ६४ वर्षीया नेतृ सानाई टाकाइची प्रधानमन्त्री बनेकी हुन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार टाकाइचीले प्रतिनिधि सभाका ४६५ मध्ये २३७ मत प्राप्त गरेकी थिइन्। बहुमतका लागि आवश्यक २३३ मतभन्दा बढी समर्थन पाउँदासँगै उनी जापानको पहिलो महिला प्रधानमन्त्री बन्न निश्चित भएकी हुन्।
नयाँ प्रधानमन्त्रीको रूपमा टाकाइचीले आज साँझै शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।
यसअघि इशिबा प्रधानमन्त्री रहेका थिए। तर, उनको दलले संसद्का दुवै सदनमा बहुमत गुमाएपछि उनी पदच्युत भएका हुन्। इशिबा गत वर्ष अक्टोबरमा प्रधानमन्त्री बनेका थिए।
टाकाइचीको नेतृत्वमा जापानले नयाँ राजनीतिक मोड लिने अपेक्षा गरिएको छ। उनी लामो समयदेखि एलडीपीभित्र प्रभावशाली नेतृका रूपमा सक्रिय थिईन् ।

