-जयराम बिडारी
कार्तिक २,काठमाडौँ
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्तीका अवसरमा इन्टरनेशनल स्कुल, धुम्वाराहीका कक्षा ३ र ४ मा अध्ययनरत विद्यार्थीहरुद्वारा लिखित ‘कथाकल्प’ कथासङ्ग्रहको परिचर्चा सम्पन्न गरिएको छ ।
लोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा विद्यालय परिसरमा सम्पन्न गरिएको थियो । नेपाल बालसाहित्य समाजका अध्यक्ष, वरिष्ठ बालसाहित्यकार तथा प्रशिक्षक विजयराज आचार्यको प्रमुख आतिथ्यमा प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ को सभापतित्वमा वरिष्ठ बालसाहित्यकार तथा साइनो अभियानका अभियन्ता तथा नेपाल लाइब्रेरी फाउण्डेशनका अध्यक्ष डा. छायाँदत्त न्यौपानेको विशिष्ठ अतिथ्य तथा चाँगुनारायण साहित्य समाजका अध्यक्ष लालबहादुर भुजेलको आतिथ्यमा सम्पन्न गरिएको थियो ।
परिचर्चा कार्यक्रमका प्रमुख अतिथि आचार्यले भविष्यका कर्णधार विद्यार्थी भाई बहिनीहरुको जीवनको सुरवाती चरणबाट नै साहित्य प्रतिको अनुरागले कालान्तरमा गतिलो इतिहास निर्माण हुने विचार व्यक्त गर्दै अध्ययन र निरन्तरको अभ्यासले समुज्वल भविष्यको रेखांकन हुने कुरा बताए । उनले विद्यालयका प्राचार्य अनिरुद्र अर्याल आफैं पनि बालसाहित्यकार हुनुले पनि बालबालिकाहरु प्रोत्साहित भई कलिला उमेरमै सिर्जनात्मक कर्ममा अघि बढ्दै इन्टरनेशनल स्कुलको नाम समेत रोशन पारेको बताए ।
उक्त कार्यक्रममा विशिष्ट अतिथि डा. छायादत्त न्यौपाने ‘बगर’ले ससाना नानीहरूले गरेका सिर्जनाबाट आफू हर्षित, प्रभावित र लाभान्वित भएको विचार व्यक्त गर्दै हुने बिरुवाको चिल्लो पात भने झैं कक्षा ३ र ४ मा अध्ययनरत भाई बहिनीहरुद्वारा लिखित कथाकल्पको सुरुवाती चरणको लेखनको भाग एक भन्दा दोस्रो अनि त्यसैगरी तेस्रो भागयम्म आइपुग्दा लेखन कौशलमा स्तरोन्नती हुँदै गइरहेको बताउँदै भविष्यमा उम्दा साहित्यकारका रुपमा स्थापित हुने कुरामा संका नरहेको बताए । उनले साहित्यिक गतिविधिमा डोर्याउन मद्दत गर्ने अभिभावक, विद्यालय परिवार तथा सक्षम र सहयोगी प्राचार्यको मुक्तकण्ठले प्रशंसा गरे ।
यसैगरी शिक्षक,प्रशिक्षक तथा बहुआयामिक व्यक्तित्वका रुपमा परिचित बालसाहित्यकार केशरी अम्गाईले कतिपय अवस्थामा आफ्नै पहलबाट करिव दर्जनको हाराहारीमा बालकृतिहरु प्रकाशन भइसकेको जानकारी गराउँदै निकट भविष्यमै संयुक्त बालनाटकसङ्ग्रहको प्रकाशन हुन लागेको जानकारी गराए । बालबालिकाहरुलाई कलिलै उमेरमै सिर्जनात्मक कर्ममा लाग्न उत्साह प्रदान गर्ने अम्गाईले यस्ता खाले कृति सम्भवतः पहिलो हुन सक्ने उल्लेख गरे । सोही अवसरमा चाँगुनारायण साहित्य समाजका अध्यक्ष लालबहादुर भुजेलले आफूले पनि बालसाहित्यको क्षेत्रमा कलम चलाएको बताउँदै आजको सुकर्मले नै भोलीको भविष्यको जग निर्माण गर्ने कुरामा जोड दिंदै आफ्ना एक बाल रचना ‘पानी पुरी र चटपटे’ कविता सुनाएका थिए । त्यसैगरी अर्का टिप्पणीकार तथा बालसाहित्यकार देवराज सिंखडाले बालबालिकाहरुका सिर्जना हेर्दा एउटा परिपक्व साहित्यकारहरुले लेख्ने साहित्य भन्दा भिन्न नरहेको उल्लेख गर्दै यस्ताखालको परिणामका लागि भूमिका निभउने अभिभावक र विद्यालय परिवारको प्रशंसा गरे ।
सो समारोहलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य अनिरुद्र अर्यालले वर्तमान अवस्थामा मोबाइल र गेममा अभ्यस्त रहने गरेका बालबालिकाहरुको बाटो परिवर्तन गरी सुकर्म तर्फ बाटो मोड्न गरिएको प्रयास स्वरुप कथासङ्ग्रहको विभिन्न भागहरु प्रकाशित गरी विद्यार्थीको सर्वाङ्गीण विकासमा सहायक भूमिका निभाइरहेको बताए । व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको उल्लेख गर्दै विद्यार्थीहरुले हरेक कर्ममा अब्बलता हुने प्रयास गर्नका लागि दत्तचित्त भएर अघि बढ्ने वातावरण निर्माण गर्न सकियो भने ती बालबालिकाहरुलाई पढ् पढ भनिरहनु नपर्ने र तीनका नतिजा पनि ए+ ग्रेड नै चाहिन्छ भन्ने छैन उनले उल्लेख गरे ।
कार्यक्रमका सभापति तथा लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ले यस्ता खाले कार्यक्रमले बाल सिर्जनात्मक क्षेत्रलाई सबल बनाउन सकिने भन्दै अल्फा र जेड पुस्ताका साहित्यकारलाई प्रतिष्ठानले विशेष महत्त्वका साथ स्थान प्रदान गर्ने बताए । भरखरै मात्र स्थापना गरिएको प्रतिष्ठानले बाल सर्जकका कृति प्रकाशन, लोकार्पण र परिचर्चा गर्ने गरेको उल्लेख गर्दै मोफसलका स्रष्टाका साथै तन्नेरीपुस्तालाई समेत योगदानका आधारमा उचित सम्मान प्रदान गर्ने गरेको बताए ।
उक्त कार्यक्रममा सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल,’दीपसागर’ नेपाल बालसाहित्य समाजकी कोषाध्यक्ष यशोदा अधिकारी साहित्यकार रुबि सत्याल, बाल संस्कार अनलाइनकी प्रबन्ध सञ्चालक गङ्गा खतिवडा माइन्ड प्लसका प्रबन्ध निर्देशक तथा लोमश वाङ्मय प्रतिष्ठानका सचिव नवीन पल्लव,साहित्यकार महेश्वर खनाल लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो । कार्यक्रमको बीचबीचमा वाद्यवादन बजाउँदै मनोरञ्जन गराएका थिए भने आफैंले पकाइएका चिया, खानाका साथै देउसी भैलो लगायतको कार्यक्रम गरेर सम्पन्न गरिएको थियो ।

