–विश्वनाथ खरेल
काठमाडाैँ ,माघ १६ गते । विश्वमा हरेक राष्ट्रले आफ्ना वीर सपूत तथा शहीदहरुलाई उच्चकोटीमा राखी मूल्यांकन गर्दछन् । जसले आफ्नो राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र जनताप्रति कुदृष्टि राख्नेहरुको विरुद्धमा शारीरिक तथा मानसिकरुपले संघर्ष गर्दागदैं इहलीला समाप्त गर्छ, त्यस्तो व्यक्तिलाई नै शहीद भनिन्छ । थोरै बाँचेर पनि आफ्नो अदभ्य जोश, जाँगर, सुरता, वीरता, रगत र पसिनाले आफ्नो मातृभूमिको सेवा गर्दागदैं शहादत प्राप्त गरेका व्यक्तिहरु नै शहीद हुन् र उनीहरु नै युगयुगान्तसम्म बाँचिरहन्छन्, जस्तै बलभद्र कँुवर, भक्ति थापा आदि । हाम्रो देशमा पनि यस्ता वीर शहीदहरु हजारौंको संख्यामा छन् । उनीहरुले नेपाली जनता र नेपाल आमाको खुसीको लागि आफ्नो खुसी छोडेर गएका छन् । हाम्रो देशमा प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस राष्ट्रप्रेमीहरुका लागि महत्वपूर्ण दिवस हो । उक्त दिवसको अवसरमा शहीदको बलिदानबाट प्रजातन्त्रको पुनस्थार्पना भएको हो भनेर फलाक्दैमा शहीदहरुप्रति राजनीतिक व्यक्तिहरुको कर्तव्य सम्पन्न भएको मान्न सकिन्न । शहीदगेट बनाउंदैमा, शहीदहरुको फोटोमा माल्यार्पण गदैंमा, शहीदहरुको नाममा एक मिनेट मौनधारणा गदैंमा शहीद दिवसको सार्थकता पूरा हुंदैन् । तर तिनै शहीदका परिवारहरु बिचल्लीमा परी अत्यन्त दयनिय अवस्थामा रहनुपरेको तर्फ हाम्रो दृष्टि नपुगेको हुन पनि सक्छ । एक सय चार वर्षीय जहानियाँ राणाशासन समाप्त पारी प्रजातन्त्र ल्याउन र तीस वर्षीय निरंकुश पञ्चायती कालरात्रीको व्यवस्थालाई समेत लत्याई बहुदलीय व्यवस्था ल्याउन आफ्नो बुद्धि र विवेकको भ्याएसम्म मानवीय शरीरको कुनै पर्वाह नगरी छातीमा गोली थापेर ज्यानसमेत आहुति दिने वीर शहीदहरु नै सच्चा शहीदहरु हुन् । शहीदहरुको सम्मान र संस्मरणस्वरुप सामाजिक एवं गैरसरकारी क्षेत्रबाट भएका र हुने गरेका कामहरु सराहनीय छन् । अतः राणा शासनको विरुद्ध प्राण उत्सर्ग गर्ने चार महान शहीद गंगालाल, धर्मभक्त, दशरथ चन्द्र र शुक्रराज शास्त्री लगायत ज्ञात अज्ञात शहीदहरुको सम्झनामा मनाइने शहीद सप्ताह पञ्चायती व्यवस्थाविरुद्ध लड्ने शहीदहरुप्रति पनि समानान्तररुपने समर्पित हुनु आजको आवश्यकता हो ।


1 Comment
Pingback: सच्चा शहीदको अपमान ! | Bishow Nath Kharel