– नन्दलाल खरेल
‘माया बैगुनी नभई नहुने’ गीतमा भनिए झैं नेपाल र भारतको सम्बन्ध रहेको छ। नेपाली जनताले सबैभन्दा बढी भारतको विरोध गर्छन् तर नेपाली जनतालाई सवैभन्दा बढी भारत चाहिएको छ । भारतले पनि नेपाललाई सानो देश सम्झन्छ र हेर्छ । तर भारतलाई सबैभन्दा बढी नेपालको आवश्यकता पर्दछ । हाम्रा शासकहरु प्रतिपक्षमा, सडकमा, युद्धमा हुँदा नेपालको समृद्धिको बाधक विस्तारवादी भारत हो भनि कुर्लन्छन् । तर जव सत्तामा जान्छन् विकास र समृद्धिको प्रमुख साझेदार भारत हो भनि मुक्त कण्ठले प्रशंसा गर्छन् ।
भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको वथानाहाबाट विराटनगरको बुधनगरसम्म रेलवे सेवा संयुक्त रुपमा उद्घाटन गर्दै दुवै नेताले दुई वटा महत्वपूर्ण उद्गार गरे । भारतका प्रधानमन्त्री मोदीले ‘नेपाल र भारतबीच यस्तो सम्बन्ध बनाउनेछौं कि हामीबीच बाधा नआओस् । सम्बन्ध सुपरहिट होस् । हाम्रो सम्बन्धलाई हिमालयझैं उचाई दिन प्रतिवद्धछौ’ भन्ने उद्गार गरे । त्यस्तै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने ‘हामीले संयुक्त रुपमा धेरै व्यापार पूर्वाधारको उद्घाटन, शिलान्यास गरेका छौ भने सन्धी र सम्झौता पनि भएका छन् । यो कार्यले दुई देशको सम्बन्धलाई नयाँ उचाई दिनेछ । यी दुवै प्रधानमन्त्रीका बोलीका भाषाहरु खाली औपचारिकताका लागि मात्र बोलिएका हुन् । नाकावन्दी अगाडी नेपाल भ्रमणमा आएका बेला मोदीले हाम्रो संसदमा गएर मीठो मीठो शब्दजाल हालेर नेपालको प्रशंसा गरेका थिए । संविधान बन्ने क्रममाः उसका केहि कुरा नराख्दा नाकाबन्दी गरेका थिए । मोदीको बोली र व्यवहारमा आकाश जमिनको फरक छ । प्रचण्ड एक अवसरवादी र अस्थिर नेता हुन् । त्यतिमात्र होइन उनी बाह्य शक्तिकै आदेश पालक हुन् । भारतकै विरोध गर्ने र भारतमै बसेर उनीहरुकै योजनामा युद्ध संचालन गर्ने नेता हुन् ।
चारदिने भ्रमण सकेर प्रचण्ड स्वदेश फकिसकेका छन् । चारदिने भ्रमणको क्रममा उनी करिव करिव व्यस्त रहे । प्रचण्ड भुइतहको प्रतिनिधत्व गर्ने नेताको रुपमा गरिव, मजदुर किसान तथा उत्पिडनमा रहेका मानिसको नेताको रुपमा चिनिन्थे । तर आज उनी दलाल, माफिया ठूलापुँजीपतिको संरक्षण गर्ने नेताको रुपमा चिनिन्छन् ।
उनी भारत जादा भुइतहका आम जनताले केही पनि आशा गरेनन् । उनीहरुलाई पहिल्यै थाहा छ कि प्रचण्डले हाम्रो लागि कुनै उल्लेखनीय पोको ल्याउन सक्दैनन् । प्रचण्डको उपस्थितिमा विभिन्न सातवटा सम्झौता समेत भएका छन् । तर, उल्लेखनीय सम्झौता एउटा पनि भएको छैन । नेपाल भारत पारवहन सम्झौता नविकरण भएको छ । पाँच वर्ष पुगेपछि स्वतः नविकरण हुने प्रकृतिका सम्झौता हो यो ।
नेपाल सरकारले पट्रोलियम गाडीको आयात घटाउने नीति लिएको छ । जलविद्युतमा नेपाल आत्मनिर्भर भई विदेश निर्यात गर्ने अवस्थामा फड्को मार्दै गरेको अवस्थामा सीमापार पेट्रोलियम पाइलाइनलाई अमलेखगन्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पु¥याउने सम्झौता भएको छ । तर अव तीन वर्षभित्र काठमाडौ–निजगढ फास्ट ट्रयाक सञ्चालनमा आउन लागेको अवस्थामा अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार गर्नुको कुनै अर्थ रहदैन । यो सम्झौताले हामीलाई झन परिनिर्भरतामा धकेलेको देखिन्छ ।
प्रधानमन्त्री प्रचण्डले यो भ्रमणलाईबे्रक थु्र भनेता पनि आम नेपाली जनताले पत्याएका छैनन् । ‘जाने र आउने’ बाहेक प्रधानमन्त्री प्रचण्डको भ्रमण निरर्थक सावित भएको छ । अढाइ दशक अघि नै सम्झौता भइसकेको पाँच हजार मेगावाट जलविद्युत क्षमताको महाकाली पञ्चेश्वर परियोजना अघि बढाउने सन्दर्भमा यो भ्रमणले एक इन्च पनि प्रगति गरे । तर एउटा नीजि कम्पनीले ५१ प्रतिशत सेयरमा बनाउने भनेको ४ सय ४६ मेगावटको फुकोट कर्णाली आयोजनाको विषयमा के के न भयो भने भैm प्रचार गरिएको छ ।
नेपाल र भारतवीच वैदेशिक व्यापारको ठूलो खाडल छ । नेपालको व्यापारघाटा हरेक वर्ष बढ्दो छ । आर्थिक वर्ष २०७८÷७९ मा व्यापार घाटा १७ खर्व २० अर्व थियो । यसपाली पनि १० महिनाको अवधिमा १२ खर्व भन्दा बढी व्यापारघाटा छ । हामीले ७० प्रतिशतभन्दा बढी भारतबाट बस्तु आयात गर्छौ तर निर्यात भने भारतमा एकदमै न्यून छ । यो विषयमा कत्ति पनि छलफल भएन । दुई देशबीचको मुख्य आयात निर्यात भनेको कृषि उपज हो । कृषि उपज आयात निर्यातका लागि विषादी परीक्षण गर्न दुवै देशबीच सीमा क्षेत्रमा संयुक्त प्रयोगशाला निर्माण गर्ने विषयमा एजेण्डा उठाउनु पर्ने आवश्यकता थियो । तर त्यसले स्थान पाएन । हामीले विषादी युक्त
कृषिजन्य पदार्थ सेवन गर्न वाध्य छौं र उतैबाट आएको औषधी उपभोग गर्नु पर्ने वाध्यता समेत छ । यो महत्वपूर्ण विषयमा कुनै कुरा नउठ्नु दुःखद हो ।
लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालको चुच्चे नक्सामा समेटिएको थियो । त्यो हाम्रो भू–भाग लामो समयदेखि भारतले अतिक्रमण गरी आफ्नो कब्जामा राखेको छ । नेपालको यो भूमि हामीले भोग गर्न सकिरहेका छैनौं । यो सन्दर्भमा प्रचण्डले कुरा राख्लान भन्ने आम नेपालीले आशा गरेका थिए । तर उनले यो विषयमा कुरा समेत उठाएनन् । त्यति मात्र होइन भारतको मोदी सरकारको समेत स्वीकृतमा बनेको इपिजी(इमिनेन्ट पर्सन ग्रुप) प्रतिवेदनका सन्दर्भमा समेत केहि कुरा उठाएनन् । खाली भ्रमणमा ठूलो क्रमभङ्ग भयो भनेर मात्र पुग्दैन । नेपाली जनतालाई परिणाम चाहिन्छ । फोस्रो आदर्श र मीठा कुराले मात्र अव जनता पत्याउने स्थितिमा छैनन् ।नेपाल एक स्वतन्त्र राष्ट्र घोषणा भएपनि राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हिसावले भारतको पराधीनतामा बाचेको छ । हामी स्वाधीन हुन सकेका छनौैं । यहाँका शासकहरु केहि अपवादलाई छोडेर भन्ने हो भने भारतीय शासकहरुकै आर्शिवादबाट शसन सत्तामा पुग्न र टीकीरहन सकेका छन् । भारतले नेपाललाई केही दिएजस्तो गरेर धेरै हामीबाट लिने गरेको छ । यो कुरा नेपाली जनताले बुझेकै छन् । यसपालीको प्रचण्डको भ्रमण पनि पुरानै कर्मकाण्डी र निरन्तरता भन्दा अलग रहन सकेन । भारतले जहिल्यै पनि हाम्रो पानी÷उर्जामा आँखा गाडेको थियो । यसपटकको सम्झौतामा नेपाल भन्दा उ माथि परेको छ । नेपालले उर्जा बजेट आम्दानी गर्नुभन्दा उर्जा उपयोग गरेर पेट्रोलियम पदार्थको आयात घटाउने दिशामा जादा उपयुक्त हुन्छ । उर्जाको प्रचूर उपयोग गरी कृषि र कृषि जन्य उद्योगको स्थापना गर्ने दिशामा हाम्रो ध्यान पुग्नु प¥यो । यो कमजोरी भइरहेको छ । यसतर्फ सवैको ध्यान जाओस । सवैलाई चेतना भया

