काठमाण्डौ: इजरायली हवाई आक्रमणले गाजाको खान युनूससहितका क्षेत्र पुनः थर्काउँदा सोमबार चार जना प्यालेस्टिनीको मृत्यु भएको छ । आक्रमणमा धेरै घाइते भएको अस्पतालका चिकित्सा स्रोतले जनाएका छन्।
गाजा सहरको पूर्वी भाग अल–तुफाह र शुजैय्या क्षेत्रमा भएको हवाई आक्रमणमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ।
त्यसैगरी खान युनूसको पूर्वमा भएको ड्रोन आक्रमणमा एक जनाको मृत्यु र दुई जना घाइते भएको प्यालेस्टिनी समाचार एजेन्सी डब्लुएएफएले जनाएको छ।
खान युनूसकै पूर्वमा रहेको बानी सुहेला सहरमा ड्रोन आक्रमणका कारण घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएपछि सोमबारका आक्रमणमा मृतक संख्या चार पुगेको जनाइएको छ।
एजेन्सीका अनुसार इजरायली सेना दक्षिणी गाजा पट्टीमा आक्रमण जारी राखेको छ। गाजा सहरको पूर्वतर्फ अल–तुफाह क्षेत्रमा विस्फोटक पदार्थले भरिएका गाडीहरू क्रमशः विस्फोट भइरहेको पनि रिपोर्ट गरिएको छ।
गाजामा युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा कब्जा बलहरूको फिर्ता र उत्तरी गाजामा विस्थापित नागरिकहरूलाई घर फर्काउने प्रक्रिया सुरु भएपछि हमास र इजरायलबीच भएको युद्धविराम अक्टोबर ११ देखि लागू भएको थियो।

