काठमाडौँ –सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा निजी क्षेत्रको सहयोग निरन्तरै बढिरहेको छ । आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले कोषमा १ करोड १ लाख रुपैयाँ जम्मा गरेको अर्थ मन्त्रालयले जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले उक्त रकमबराबरको भौचर अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरे।
यसअघि, एफ–वान सफ्ट ग्रुपअन्तर्गत एफ–वान सफ्ट इन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडका कर्मचारी तथा कम्पनीको संयुक्त योगदानस्वरूप ७५ लाख रुपैयाँ बराबरको चेक अर्थमन्त्री खनाललाई हस्तान्तरण गरिएको थियो। चेक मङ्सिर ३ गते समूहका अध्यक्ष सिद्धान्त ठकुरीले बुझाएका थिए।
पुनर्निर्माण कोषमा सहयोग पुर्याउने दुवै कम्पनीप्रति सरकारका तर्फबाट अर्थमन्त्री खनालले विशेष धन्यवाद व्यक्त गरेका छन्।
अर्थमन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आइतबारसम्म उक्त कोषमा जम्मा भएको कुल रकम ९ करोड ३० लाख रुपैयाँ पुगेको छ।

