नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) फेरि एकपटक विभाजनको चपेटामा परेको छ। पार्टीभित्र लामो समयदेखि देखिँदै आएको वैचारिक मतभेद र कार्यदिशाको विवाद चुलिँदै जाँदा चिरञ्जीवी ढकालको नेतृत्वमा रहेको समूहले विद्रोह गर्दै नेकपा (माओवादी) बाट अलग भएको हो।
विद्रोहपछि ढकाल समूहका नेता–कार्यकर्ताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएका छन्। काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा नेकपाका संयोजक प्रचण्डले ढकालसहितको समूहलाई औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले वामपन्थी शक्तिहरूबीचको एकता आजको आवश्यकता भएको उल्लेख गर्दै जनताको पक्षमा उभिने क्रान्तिकारी शक्तिहरूलाई एउटै धारमा ल्याउन नेकपा प्रतिबद्ध रहेको बताए। उनले वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन र व्यवहारिक राजनीतिका माध्यमबाट समाजवादी लक्ष्य हासिल गर्नुपर्ने धारणा राखे।
नवप्रवेशी नेता चिरञ्जीवी ढकालले विगतको पार्टीभित्र जनआकांक्षाअनुसारको राजनीतिक कार्यदिशा अघि बढ्न नसकेको भन्दै जनताको भरोसा जित्ने शक्तिशाली वाम विकल्प निर्माणका लागि नेकपामा समाहित भएको बताए।
यस घटनाले विप्लव नेतृत्वको माओवादीभित्रको संकटलाई थप उजागर गर्नुका साथै नेपाली वाम राजनीतिमा पुनः ध्रुवीकरणको संकेत देखिएको विश्लेषकहरू बताउँछन्।

