काठमाडौँ । काठमाडौँ उपत्यकाको आर्थिक, सांस्कृतिक तथा व्यापारिक गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘काठमाडौं महोत्सव (Kathmandu Business Expo 2026) आजदेखि राजधानीको ऐतिहासिक प्रदर्शनी स्थल भृकुटीमण्डपमा सुरु हुँदैछ। महोत्सव आज माघ १४ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (NICCI) को आयोजनामा, काठमाडौँ महानगरपालिकाको सहकार्य तथा राइजिङ नेपाल प्रा.लि.को सह–आयोजनामा महोत्सव आयोजना हुन लागेको हो।
स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धन महोत्सवको मुख्य उद्देश्य रहेको छ ।
उपत्यकाको आर्थिक र पर्यटकीय पहिचानलाई थप सुदृढ बनाउनुको अतिरिक्त घरेलु तथा साना उद्योग, स्टार्टअप र नयाँ उद्यमीहरूलाई बजार पहुँच, व्यावसायिक नेटवर्किङ र पहिचान दिलाउन महोत्सवको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष पशुपति केसीले बताएका छन् ।
महोत्सवमा २०० भन्दा बढी अत्याधुनिक तथा व्यवस्थित व्यवसायिक स्टलहरू रहेका छन्। स्थानीय तथा राष्ट्रिय उत्पादन र सेवाको प्रदर्शनीसँगै रैथाने खानाको प्रतियोगिता, फुड फेस्टिभल, कन्सर्ट, लाइभ म्युजिक, कला तथा सांस्कृतिक प्रस्तुति, विषयगत झाँकी, पर्यटन प्रवर्द्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविरलगायत बहुआयामिक गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ। महोत्सवमा एक लाखभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।
महोत्सवमार्फत स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसर सिर्जना, व्यावसायिक नेटवर्किङ प्रवर्द्धन, रोजगारीका अवसर सृजना तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उत्सवले लक्ष्य लिएको छ। काठमाडौँ महानगरपालिकाको ‘एक वडा–एक नमुना उत्पादन’ अवधारणालाई सहयोग गर्दै बजार प्रवर्द्धनमा विशेष जोड दिइने आयोजकले जनाएको छ।
महोत्सवमा कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स, हस्तकला, कृषि उत्पादन तथा मेसिनरी, फर्निचर, फूड एण्ड बेभरेज, सूचना प्रविधि, ट्राभल तथा टुर सेवा, रियल स्टेट, हर्बल तथा अर्गानिक उत्पादन, बैंक तथा वित्तीय संस्था, बीमा, स्वास्थ्य, सौन्दर्य, निर्यात–आयात तथा जिल्लागत विशेष उत्पादनका प्रदर्शक सहभागी छन्।
महोत्सवको उद्घाटनका अवसरमा आज बिहान बसन्तपुरदेखि भृकुटीमण्डपसम्म प्रचारात्मक झाँकी तथा र्याली आयोजना गरिएको छ।
बिहान ११:०० बजे भृकुटीमण्डपमा औपचारिकरुपमा महोत्सवको उद्घाटन गरिने आयोजकले दिएको छ ।
महोत्सवलाई सफल बनाउन FNCCI, FNCCI बागमती प्रदेश, नेपाल पर्यटन बोर्ड, नेपाल वितरक संघ, ट्रेड एन्ड एक्सपोर्ट प्रमोशन सेन्टर, ललितपुर उद्योग वाणिज्य संघ, फेडेरेशन अफ ह्यान्डिक्राफ्ट एसोसिएसन नेपाल (FHAN) लगायत विभिन्न निजी तथा सरकारी संस्थाहरूको सहकार्य एवम् समर्थन छ।

