काठमाण्डौ । अमेरिकी बहुराष्ट्रिय प्रविधि तथा ई–कमर्स कम्पनी अमेजनले पुनर्संरचनाअन्तर्गत विश्वव्यापी रूपमा थप १६ हजार रोजगारी कटौती गर्ने जनाएको छ। यसअघि नै १४ हजार पद कटौतीको योजना सार्वजनिक गरिसकेको कम्पनीले करिब ३० हजार कर्मचारीलाई कार्यक्षेत्रबाट बिदा गर्ने प्रक्षेपण गरिएको छ।
कम्पनीकी वरिष्ठ उपाध्यक्ष बेथ गालेट्टीले बुधबार जारी गरेको विज्ञप्तिमा व्यवस्थापन संरचना चुस्त बनाउने उद्देश्यसहित जनशक्ति समायोजन अघि बढाइएको जानकारी दिएकी छन्। उनका अनुसार रोजगारी कटौतीको लक्ष्य “तहहरू घटाउने, जिम्मेवारीको स्वामित्व बढाउने र अनावश्यक कर्मचारी हटाउने” हो।
अक्टोबरमा सार्वजनिक मिडिया रिपोर्टअनुसार प्रस्तावित कटौती अमेजनका विश्वभर कार्यालयमा कार्यरत करिब तीन लाख ५० हजार कर्मचारीमध्ये १० प्रतिशतभन्दा बढीमा पर्नेछ। यद्यपि यो योजना वितरण केन्द्र र गोदाममा कार्यरत जनशक्तिलाई असर नपर्ने गरी तयार गरिएको कम्पनीको भनाइ छ। यस क्षेत्रमा कार्यरत करिब १५ लाख कर्मचारी भने कटौतीबाट सुरक्षित रहनेछन्।
अमेजनले जनशक्ति कटौतीबारे सार्वजनिक भएका मिडिया रिपोर्टहरूमाथि औपचारिक टिप्पणी गर्न अस्वीकार गरेको छ। कम्पनीका अनुसार यो कदम कृत्रिम बुद्धिमत्ता (एआई) लगायत अत्याधुनिक प्रविधिमा बढ्दो लगानीको पृष्ठभूमिमा लिइएको हो।
कम्पनीले सन् २०२५ का लागि तयार पारिएको पूर्ण वर्षे कार्ययोजनाबारे फेब्रुअरी ६ मा पत्रकार सम्मेलनमार्फत जानकारी गराउने जनाएको छ।

