काठमाडौँ । नवौँ अन्तरराष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन छ खेलाडीसहित आठ सदस्यीय नेपाली बादोरियो कराँते टोली भारतको भिशाखापटनमतर्फ प्रस्थान गर्ने भएको छ।
जनवरी ३० देखि फेब्रुअरी १ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ६५ केजी तौल समूहमा राजु बुढाथोकी, ५५ केजीमा विसन थापामगर, ४५ केजीमा रिजन बुढामगर तथा ३० केजीमा शिशिर थापाले प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ ६० केजीमा दिया पहरी र ४५ केजीमा स्वेता तारा गुरुङले चुनौती प्रस्तुत गर्नेछन्।
टोलीका अफिसियलमा नेपाल बादोरियो कराते डो सङ्घका अध्यक्ष एवं प्रमुख प्रशिक्षक हरिशरण केसी रहेका छन् भने निर्णायकको भूमिकामा सागर काफ्ले छन्।
टोलीलाई बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन्। प्रतियोगितामा सहभागिताका लागि टोली आज भारत प्रस्थान गर्दैछ।

