नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा बाबुछोराबीचको झगडा छुट्याउने क्रममा एक व्यक्तिको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार घेवारचौरस्थित ओङ्दी शेर्पा र उनका छोरा कुन्सा ग्याल्जेन शेर्पाबीच उत्पन्न विवाद समाधान गर्न गएका ३३ वर्षीय रणे तामाङको लडेर घटनास्थलमै मृत्यु भएको हो।
प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार ओङ्दी शेर्पाकी आमा चुङ्दी बिरामी रहेकाले उनको स्वास्थ्य अवस्था बुझ्न छिमेकी तामाङ त्यहाँ पुगेका थिए। सोही क्रममा बाबुछोराबीच भइरहेको विवाद देखेपछि तामाङले सम्झाइ–बुझाइ गर्दै झगडा छुट्याउने प्रयास गरेका थिए। तर विवाद चर्किंदै जाँदा उनी बीचमै लडेर अचेत भएका थिए।
प्रहरीका अनुसार तामाङको शरीरमा बाह्य चोटपटक नदेखिएकाले मृत्युको वास्तविक कारण शव परीक्षणपछि मात्र खुल्नेछ। शव परीक्षणका लागि उनको शव त्रिशूली अस्पताल ल्याइएको छ।
घटनासम्बन्धी अनुसन्धानका लागि प्रहरीले ५२ वर्षीय ओङ्दी शेर्पा र उनका २६ वर्षीय छोरा कुन्सा ग्याल्जेन शेर्पालाई पक्राउ गरेको छ।
उनीहरूलाई ‘ज्यानसम्बन्धी कसुर’मा नियन्त्रणमा राखी नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

