स्वयम्भू शाक्य
सागरमा नाऊ चलाउँदा बीच बाटोमा आँधीबेहरी चल्यो भने परिस्थितिलाई बुझी पछाडी होइन डटेर अगाडी बढ्नुमा बुद्धिमानी हुनेछ । एक दिन मर्नु छ भनी मनबाट भयलाई पन्छाएर भित्री हृदयदेखि हिम्मतले काम गर्न सक्नु पर्दछ । आखीर बीच बाटो न हो, अगाडी पछाडी जहाँ गए पनि समस्यै समस्या छ । भयको पहाड आफ्नै अगाडी उभिसके पछि भाग्नु भन्दा मुकावला गरी अगाडी बढ्नु नै जाती हुनेछ । जतिसुकै दुःख र कष्ट भोगेर पनि हामी पछाडी होइन अगाडी बढ्नुमा उत्तम देखिन्छ । संकटको त्यो भूमरीबाट बाहिर निस्कन संकटलाई नचिनै हो भने संकटले हामीलाई नै निल्ने छ । समस्यै समस्याले दोधारमा पुगेपछि हामीमा डर, त्रास र भयबाट मुक्त हुनु पर्छ । होइन भने हामी सागरको बीचमा डुबेर मर्ने छन् । एकमुठ्ठी सास छिनभरमै पानी पिएर सागरमै लाश हराउँने छन् । त्यसैले हामी बाँच्नु छ भने हामीले हिम्मत कहिल्यै हार्नु हुँदैन । आखिर के हुन्छ र हदै भए मलाई डुबाएर मार्ने त हो । अरु के गर्न सकिन्छ र ? मेरो भाग्यमा बाँच्नु छ भने काल नआई सागरले पनि कहाँ मार्न सकिन्छ र ? यो शरीरलाई नीलदाम बनाएर क्षत विक्षत पार्नु बाहेक सागरले काल बनेर मलाई कहाँ लग्न सकिन्छ र ?
यो त जगतको रीत हो । खोला भैंm सलल बग्नु पर्ने हाम्रो जिन्दगीमा मान्छे किन सलल बग्न नसकेको होला ? यता उता पहाडै पहाडमा ठोकिएर झरेको झरना जस्तै मान्छेले किन सधैं दुःख पाएको होला ? चिसोले घाम खोजिरहेको बेला मान्छेको मनमा किन पानी परेको होला ? वर्षाको बेला पानी परिरहेको बेला मान्छेको मनमा किन घाम नलागेको होला ? वारी र पारी बीचमा अल्झेको बेला मान्छेमा किन भय जन्मिने होला ? आँखाले देख्नै नसक्ने यो दुःखको सागरमा मान्छे किन हिँड्नु पर्ने होला ? अध्यारो रातमा चाँदनी हाँसेको देख्दा दुःखमा पनि सुख हुन्दोरहेछ भनी मान्छेले किन नबुझेको होला ? गहिराई छ भनी मान्छेले थाहा हुँदा हुँदै पनि डुबल्की मारी मान्छे किन पागल भएको होला ? अनौठो छ । यो अनौठो संसारभित्र बसाईं सराईं गर्नेहरूको थुप्रैं लाम छ । यो भवसागरबाट परमात्मासम्म जानका लागि यौटा ढोकाबाट भित्र बाहिर जानेहरूको हुल छ । त्यसैले होला युगकवि सिद्धिचरण श्रेष्ठले आज प्राणी जगतमा आई लाग्ने संकटको गीत गाउँदैछन् । घनघोर वर्षाले मान्छेलाई बगाएर यताउता पारी बिचलित परेका कुरा गर्दैछन् । जिन्दगीको छोटो यात्रामा कसरी हिँड्नु पर्छ भनी हामीहरूलाई सारतत्व बुझाउँदैछन् । यो भवसागरको रीत चलाउँनका लागि सागरभित्र थुप्रै जन्म र मृत्युका कुरा गर्दैछन् । अपितु यो मानवीय संकटको बाटो न त आँखाले देख्न सकिन्छ न त कानले सुन्न सकिन्छ । यो त घनघोर विपत्तीको कुरो हो । दनदन बलिरहेको आगोभित्र पसेर आगोलाई निभाउनु पर्ने बाध्यता छ । हिमगिरीमा तपस्या गरी हिउँबाट नै बच्नु पर्ने आवश्यकता छ । यात्रै यात्रामा हिँड्नु पर्ने यात्रुले सबै सहेर आफ्नो घरतिर जानू छ ।
सागरको बीच आइसकेपछि भयले अब हट्नु हुँदैन
आँधी आई कुर्ले कुर्लोस् अब हिम्मत हार्न हुँदैन ।
डुब्ला, मलाई अरु के होला, यति न हो त्रास तँलाई
लाखाँ मर्छन्, लाखाँ डुब्छन् जगको रीत चलाउनलाई ।
जिन्दगीमा जतिसुकै दुःख र कष्ट सहेर पनि रोएर मात्र होइन हाँसेर पनि जीवनमा बाँच्न सिक्नु पर्दछ । किनकि रुनु, मन दुखाउनु हो । मनभित्र आपैmले नै आँधीबेहरी चलाउनु हो । आगो लगाएर आपैmले नै ताप्नु हो । त्यसैले मान्छेको जिन्दगीमा रोएर मात्र चल्दैन । जिन्दगी बिताउनका लागि हाँस्नु पनि पर्दछ । इतिहास साक्षी छ, सिद्धित्व प्राप्त गर्ने व्यक्तिले सधैं रोएर होइन हाँसी हाँसी जीवनको नाऊ खियाएको पाइन्छ । यहाँबाट त्यहाँसम्म पुग्नका लागि बाटोमा हिँड्दा हिँड्दै थुप्रै बाधा अवरोध मात्र होइन महासंकटको बेला पनि ज्यानको कुनै वास्ता नै नगरी आफ्नो लक्ष्य पुरा गरेको देखिन्छ । शरीर थाकेर केही दिन आराम गर्न खोज्दा पनि पीडै पीडाको यो जीवनमा कहिले काहिँ मन रोएर बस्न सकिन्छ । केही समयको लागि रोएर मन हलुको पार्न सकिन्छ । आगोलाई केही हडसम्म आँसुले निभाउन सकिन्छ । उम्लिरहेको व्यथालाई केही कम गर्न सकिन्छ । मनमा अलिकता ठाउँ बनाउँनका लागि रोएर व्यथालाई पगाल्न सकिन्छ । हो, समयले खोजेको बेला मान्छेले रोएर मात्र होइन हाँसेर पनि देखाउन सक्नु पर्दछ । यो दिन र रातको जिन्दगानीमा कहि अध्यारो छ त कहि उज्यालो छ । त्यसैले हामीले धेरै कुरा नबुझे पनि केही कुरा बुझ्न सकिन्छ । हो, जीवनमा संकट परेको बेला नरुने मान्छे यो संसारमा को हुन सक्छ र ? आगोले पोलेपछि नदुख्ने मान्छे यहाँ को हुन सक्छ र ? आखीर पीडा न हो । पीडाले पीडितलाई दुःख नदिए अरु कसलाई नै दुःख दिन सक्छ र ? यो त जिन्दगी हो । जतिसुकै दुःख र कष्ट सहेर पनि अब रोई रोई बाँच्ने होइन, हाँसी हाँसी अब मर्न सिक्नु पर्छ । एक दिन त मर्नु छ । हामीले चाहेर वा नचाहेर कालले जहाँ भेट्यो त्यहीबाट हामीलाई लिएर जाने छ । त्यसैले एक दिन मर्नु पर्ने यो अन्नपानीको शरीरलाई मैले मेरो भनेर कहाँ मेरो हुन सक्छ र ? छोडेर जानु पर्ने यो शरीरलाई मैले जति नै आफ्नो भने पनि आफ्नो कहाँ हुन सक्छ र ? त्यसैले जीवनमा समयलाई खेर नफाली नेपाल आमाको निम्ति केही गर्न सकूँ । मर्नु परे पनि हाँसी हाँसी यो ज्यानको आहुती दिन सकूँ । जसरी शहीदले पापीलाई आफ्नो तातो रगत पिलाएर नेपाल आमालाई स्वतन्त्रता दिलायो । रुखमा झुण्याउनका लागि बाँडी राखेको डोरीलाई ओठले चुमेर सहर्ष हाँसी हाँसी आफ्नो जीवन नेपाल आमा प्रति समर्पित गरियो ।
हामी वीर योद्धाका सन्तान हौं । अन्याय र अत्याचारीहरूलाई हामी कुल्चेर हिँड्न चाहन्छौं । थिचोमिचो सहेर होइन समानतामा हामी बाँच्न चाहन्छौं । आफ्नै कालसँग लडेर आपैmलाई झुण्डयाउन तयार पारेको डोरीलाई पनि हाँसी हाँसी चुमेर माया गर्न हामी किन नसिकौं ? आपूmलाई जन्म दिने आमा बुबालाई मात्र होइन आपूmले जन्माएका छोरा छोरी अनि श्रीमतीलाई औधी माया लागे पनि नेपाल आमाको संकट मोचनका निम्ति आफ्नो घर परिवार मात्र होइन आफ्नै शरीरलाई नै बिर्सेर देशभक्तीको आगोमा म सदा सदाका लागि किन होम्न नसकौंला ? आज मेरो मातृभूमिलाई सहारा चाहेको बेला मैले माया नगरे अरु कसले पो माया गर्छ र ? आज मेरो जन्मभूमिमा दानवले राज्य चलाई रहँदा मेरी आमाको आँसु मैले नपुछे अरु को आएर पुछी दिन्छ र ? त्यसैले यो संकटको घडीमा म रुनु भनेको मेरी आमालाई अझ पीडा दिनु हो । डरले चुप लागेर बस्नु भनेको अत्याचारीहरूलाई प्रोत्साहन दिनु हो । बाधा अवरोधले भयलाई जन्माउँछ भनी केही नबोल्नु म आपैm जिउँदै आगोमा बल्नु हो । अपितु साँचै आफ्नो देशको माया छ भने माया मुटुभित्र साँचेर राख्नु मात्र माया होइन् । माया त देशभक्ति हो । माया त आगोलाई निभाउने पानी हो । माया त आगोसँगै खेल्ने साहस हो । माया त संकट मोचनका निम्ति हाँसी हाँसी मर्न सक्ने हाँट हो । माया त आपूmलाई आपैmले बिर्सेर झुण्डयाउन तयार पारेको डोरीमा आफ्नै टाउँको छिराउने साहस हो । माया त आपूm मरेर पनि अरुलाई बचाउने कल्याणको बाटो हो । माया त अध्यारोमा बत्ती बालेर उज्यालो पार्ने काम हो । त्यसैले आजभोलि किन हो कुन्नी मेघ गज्रेर दिनभरि मुसलधारे वर्षा भैरहेको छ । दिनमै रात जस्तो अध्यारो भई कहि कतै विनाश हुने छाँटकाँट देख्दैछ । आफ्नै घरमा आगो लागेर निभाउन नसकने वातावरण बन्दैछ । अत्याचारीहरूका विरुद्ध बुलन्द भएका आवाजहरूलाई बुटले कुल्चेर संगिनले घोची घोची मरेको लाशलाई गिद्ध र जनावारलाई आहार खुवाउँदैछ । त्यसैले हामी सबैजना उठ्नु पर्छ । अब रुन पुग्यो, हाँसी हाँसी मर्नका निम्ति तयार हुनु पर्छ । माया, मोह अनि बन्धनलाई तोडेर नेपाल आमालाई सदाका निम्ति कालकोठरीबाट बाहिर निकाल्नु पर्छ । नेपाल आमाको हँसिलो मुहार हेरी हामी नेपालीहरू आ–आफ्नो रीतिरीवाजमा बगैंचामा पूmल फुले जस्तै हामीहरू पनि फुल्न सक्नु पर्दछ ।
रोई रोई बाच्न पुग्यो अब हाँसी हाँसी मर्न सिकूँ
रुखमा भुन्डिनलाई डोरी गरम ओठले चुम्न सकूँ ?
छोरा, छोरी, आमा, स्वास्नी रोएको बाधालाई
केही नगरी देश भक्तिको आगोमा होमिन म सकूँ ।
मान्छेले आपूmलाई संकट परेको बेला सहयोगका हात फिजाउनका निम्ति आँखा चिम्लेर मनले खोज्ने गरिन्छ । त्यसैले भनिन्छ, यो आँखाले जे देख्छ त्यो कुरा सत्य नहुन सक्छ । मनको आँखाले जे देखिन्छ त्यही नै सत्य हो ? किनकि आँखाले सत्य र असत्य छुट्याउन सकिँदैन । सत्य र असत्य त मनले छुट्याउने कुरो हो । काखा पाखा नगरी धर्म काँटा बोक्ने हो भने मनको आँखाले जे भन्छ त्यही सत्य हो । संकटको बेला डुब्ने मान्छेलाई त्यान्द्रोको साहारा भने भैंm आफ्नो संकटलाई निपटारा गर्नका लागि आह्वान गर्नु स्वभाविक हो । नदीले बगाएर छट्पटाई रहेको बेला उसले त्यान्द्रोको सहारा खोज्नु पनि स्वभाविक हो । मनले खोजेको मान्छेप्रति उसको अघात आस्था राख्नु पनि स्वभाविक हो । यो संकटको भूमरीबाट बाहिर निस्कनका लागि ईश्वरलाई पनि पुकार्नु स्वभाविक हो । त्यसैले यो संकटको आह्वानमा यौटा प्रेमी स्वभाविक रूपमा संकटमा फस्नु हो । जन्मेदेखि आजसम्म साथ दिए पनि किन हो कुन्नी आज उनी किन रिसाएको होला ? जीवन साथीसँग आजसम्म जीवन बिताउदै आए पनि किन हो कुनी जीवनको आधारलाई नै खलबल हुने गरी किन संकट आएको होला ? हामीले हिँडिसकेको पाइलालाई हेरेर केवल डोब मात्र हेर्नुको अर्थ के हुन सक्छ र ? टाढा टाढा भैगए पछि हिजोको सम्झनाको अर्थले के काम गर्छ र ? उडेको धूँवा सरी न हो, बगेको हावा जस्तै न हो । समयले धमिलो पारिसकेपछि विहान पख तुवालोसँगै सम्झाएर के फरक भो ? त्यसैले होला, यो आँखा किन हो कुन्नी कहिले काहीँ टाढा मात्र होइन नजिक मान्छे पनि चिन्न गाह्रो पर्दो रहेछ । चिनेको मान्छे पनि समयको अन्तराल पछि नचिन्न सक्छ । यो त समयचक्रको कुरो हो । समयचक्रभित्र घुम्दा घुम्दै को कहाँ पुग्छ हामीलाई के थाहा हुन सक्छ र ? आज आफ्नै मान्छे भोलि पराई बन्न सक्छ । आज पराई मान्छे भोलि आफ्नो बन्न सक्छ । यो त संसारको अनौठो खेल हो । यो खेलभित्र बसेर तिमी पनि बाँच्नु पर्छ, म पनि बाँच्नु पर्छ । जतिसुकै संकट आए पनि मन एक ढिक्का भयो भने संकटले पनि छुन नसक्दो रहेछ । आगोले रीस थाम्न नसकेर दनदनी बलेर खरानी पार्न सक्ला । संकट वारी र पारी नभागेसम्म ज्वारभाट उठेर भगाउनका लागि कोशिस गर्न सक्ला । त्यसैले यो त शुभयोग हो । घरमा जाँदा तिम्रो साथ पाउनु मेरो अहोभाग्य हो । गर्मीको बेला तिम्रो शीतल माया पाएर आनन्दले दिन बिताउनु ठूलो कुरो हो । आखिर योगका कुरा मिले पछि, ग्रह र दशा भागेर गए पछि प्रेममा मिलाप भएपछि, हातले हात समाएपछि, बत्तीमा तेल थपेपछि माया बढ्नु स्वभाविक हो । टाढा भएपनि नजिक हुनु स्वभाविक हो । आँखाले आँखाको भाका बुझ्नु स्वभाविक हो । मनले मनको कुरा बुझ्नु स्वभाविकै हो । त्यसैले यो त शुभ योगभित्र दिनु र दिलाउनु मात्र होइन, पाउनु र पठाउनु मात्र होइन, सम्झनु र सम्झाउनु मात्र होइन, फुल्नु र फुलाउनु मात्र होइन । यो त प्रेम हो । प्रेमभित्र यो विशाल संसार पनि सानो हुन सक्छ । महासंकटलाई पनि कुल्चेर हिँड्न सकिन्छ । महासागरलाई पनि खोलो देख्न सक्छ । आँधीबेहरीलाई पनि हातले रोक्न सक्छ । त्यसैले यो संकटको आह्वानमा अलिकता प्रेमलाई मिसाएर हेर्ने गर । अलिकता ऊर्जालाई मिलाएर हेर्ने गर । अलिकता रगतलाई घोलेर हेर्ने गर । अलिकता आगोलाई मिलाएर हेर्ने गर । अनि के पाउने छौं । अनि के परिणाम निस्किने छ । अनि कसरी समाधान हुने छ । अनि कसरी मान्छे–मान्छे भएर बाँच्नु पर्ने हो । सबैथाहा पाउने छौ । धेरै कुरा थाहा नभए पनि आपूmलाई चाहिने कुरो पक्कै थाहा पाउने छौं ।
ऊ संकटले आह्वान ग¥यो संकट म हुँ तिम्रो प्रेमी
साथ दिएथें जन्मेदेखिन् किन रिस आज मदेखि ।
हो नि त यो नै मेरो साथी, जीवनको आधार पनि
उहिले कहिल्यै सुखले छाडी गो दूर मलाई नगनी ।
संकट आएँ हात बढाऊ, मेरो प्रेमी मित्र तिमी
घरमा जाँदा साथ तिमी नै पाउनु हो शुभ योग पनि ।
मानव जीवन संघर्ष–संघर्षको यात्रा रहेछ । यो यात्रा आपैmमा चुनौतीपूर्ण छ । कहिले चिप्लो पहाडको उकालोमा चढ्नु पर्छ । कहिले ठाडो ओरालो बाटो झर्नु पर्छ । कहिले डरलाग्दो भयानक खाडलै खाडलबाट हिँड्नु पर्छ कहिले हजारौ नदीनाला मात्र होइन महासागर पनि पौडी खेलेर टर्नु पर्छ । यो कस्तो जीवन ! संकटै संकटले बाँच्नु पर्ने ? आज मरे भोलि दुई दिन हुने यो चोलामा न्याय र समानताको प्राप्तिका निम्ति आपूmले आपैmलाई पनि बिर्सिनु पर्ने ? सागरको बीचमा पुगेपछि न यता न उता संकटको घेरालाई तोडेर जान सक्ने मान्छे मात्र साँचैंको मान्छे बन्दोरहेछ । त्यसैले अब हामी रोएर होइन, हाँसी हाँसी आफ्नो शीर नेपाल आमालाई चढाउँने योद्धा बन्नु पर्दछ । बैरीले मेरो देशमा खुट्टा राखे खुकुरीको ताण्डब नाच देखाउन सक्नु पर्दछ । होइन भने तिमीले मलाई देशभक्ति भनेर कसरी भन्न सक्छौ ? देश भक्तिको माया तिमीले मलाई कहाँ लगाउन सक्छौ ? वीर सन्तानको दर्जा कसरी दिन सक्छौ ? आफ्नै जन्मभूमिको माटोको टिलक तिमीले मलाई कसरी लगाउन सक्छौं ?

