विश्वनाथ खरेल
विश्वमा हरेक राष्ट्रले आफ्ना वीर सपूत तथा शहीदहरुलाई उच्चकोटीमा राखी मूल्यांकन गर्दछन् । जसले आफ्नो राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र जनताप्रति कुदृष्टि राख्नेहरुको विरुद्धमा शारीरिक तथा मानसिकरुपले संघर्ष गर्दागदैं इहलीला समाप्त गर्छ, त्यस्तो व्यक्तिलाई नै शहीद भनिन्छ । थोरै बाँचेर पनि आफ्नो अदभ्य जोश, जाँगर, सुरता, वीरता, रगत र पसिनाले आफ्नो मातृभूमिको सेवा गर्दागदैं शहादत प्राप्त गरेका व्यक्तिहरु नै शहीद हुन् र उनीहरु नै युगयुगान्तसम्म बाँचिरहन्छन्, जस्तै बलभद्र कँुवर, भक्ति थापा आदि । हाम्रो देशमा पनि यस्ता वीर शहीदहरु हजारौंको संख्यामा छन् । उनीहरुले नेपाली जनता र नेपाल आमाको खुसीको लागि आफ्नो खुसी छोडेर गएका छन् । हाम्रो देशमा प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस राष्ट्रप्रेमीहरुका लागि महत्वपूर्ण दिवस हो । उक्त दिवसको अवसरमा शहीदको बलिदानबाट प्रजातन्त्रको पुनस्थार्पना भएको हो भनेर फलाक्दैमा शहीदहरुप्रति राजनीतिक व्यक्तिहरुको कर्तव्य सम्पन्न भएको मान्न सकिन्न । शहीदगेट बनाउंदैमा, शहीदहरुको फोटोमा माल्यार्पण गदैंमा, शहीदहरुको नाममा एक मिनेट मौनधारणा गदैंमा शहीद दिवसको सार्थकता पूरा हुंदैन् । तर तिनै शहीदका परिवारहरु बिचल्लीमा परी अत्यन्त दयनिय अवस्थामा रहनुपरेको तर्फ हाम्रो दृष्टि नपुगेको हुन पनि सक्छ । एक सय चार वर्षीय जहानियाँ राणाशासन समाप्त पारी प्रजातन्त्र ल्याउन र तीस वर्षीय निरंकुश पञ्चायती कालरात्रीको व्यवस्थालाई समेत लत्याई बहुदलीय व्यवस्था ल्याउन आफ्नो बुद्धि र विवेकको भ्याएसम्म मानवीय शरीरको कुनै पर्वाह नगरी छातीमा गोली थापेर ज्यानसमेत आहुति दिने वीर शहीदहरु नै सच्चा शहीदहरु हुन् । शहीदहरुको सम्मान र संस्मरणस्वरुप सामाजिक एवं गैरसरकारी क्षेत्रबाट भएका र हुने गरेका कामहरु सराहनीय छन् । अत: राणा शासनको विरुद्ध प्राण उत्सर्ग गर्ने चार महान शहीद गंगालाल, धर्मभक्त, दशरथ चन्द्र र शुक्रराज शास्त्री लगायत ज्ञात अज्ञात शहीदहरुको सम्झनामा मनाइने शहीद सप्ताह पञ्चायती व्यवस्थाविरुद्ध लड्ने शहीदहरुप्रति पनि समानान्तररुपने समर्पित हुनु आजको आवश्यकता हो ।
नेपालको इतिहास अध्ययन गरेर शहीदहरुलाई सम्झन खोज्दा थाहा हुन्छ, १९९७ साल माघको जाडोमा शुक्रराज र धर्मभक्तलाई रुखमा झुन्डयाइएको , दशरथ चन्द्र र गंगालाललाई बाँसमा बाँधेर ठाउँ–ठाउँमा गोली हानिएको हुन त त्यसभन्दा अगाडि पनि राणाशासनको विरोध गरेबापत जेलमै वा बन्दी रुपमै कृष्णलाल अधिकारी, खण्डमान सिंह, मैनाबहादुर खत्री आदि थिए तर सर्वप्रथम राजनीतिक दल गठन गरी क्रान्तिकारी गतिविधि चलाएको कारणले शहीद भएका थिए उपर्युतm चार जना मात्र । त्यसपछि पनि जनसंघर्षले समयको साथसाथै व्यापक्ता प्राप्त गदैं लगेकोले देशव्यापी संघर्षकै सिलसिलामा सयौं कार्यकर्ताले जेलजीवनको यातना भोगिरहेकाले २००७ सालसम्म राजबन्दीहरुले जेल टनाटन भरिएका थिए । वि.सं. २००७ सालको संघर्षको फलस्वरुप राणा सरकारको पतन भई प्रजातन्त्रको उदय भयो । यहि क्रममा वि.सं.२०१७ पुसदेखि २०४६ सालसम्म देशका विभिन्न भागमा शहादत प्राप्त गर्ने देशभक्तहरुको संख्या बढ्दै रह्यो । सरकारी तथ्याङ्गअनुसार नै यिनीहरुको संख्या झापादेखि बैतडीसम्मका ४८ जिल्लाका जम्मा २६८ जना पुगेको भए पनि पक्रिएका, थुनिएका, जेलभित्र वा बाहिर पिटिएर धाइते भएका मानिसहरुको लेखाजोखा नै थिएन् । देशमा पञ्चायती व्यवस्थाको विरोध तीब्र रुपमा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाकोे पहलमा देशभरी नै जनसंघर्ष सुरु भयो । वि.सं.२०४६ साल चैत्र २७ गते रातिदेखि २०४७ साल बैशाख १० सम्म शहीदहरुको संख्या ८१ र धाइतेहरुको संख्या १ हजार नाधेको भन्ने तथ्यांक एउटा मानवअधिकार संगठनले दिएको भए पनि यसबारे सरकारी तथ्यांक हालसम्म प्रकाशित भएको छैन । यी वीर आत्माहरुको नामसम्म पनि संकलन गर्न नसक्नु दु:खलाग्दो कुरा भएको छ । यस्ता वीर सपूत अज्ञात शहीदहरुले खोजी गर्नु जरुरी छ ।
मुलुकमा यस्ता शहीदहरु नभएका भए आज पनि नेपालीहरुले जनअधिकार र स्वतन्त्रता पाउने थिएनन् । ती सपूतहरुले ज्यानको वाजी लगाएर तानाशाही प्रवृत्तिसंग सिंगौरी नखेलेको भए यो मुलुक यतिको पनि हुने थिएन् । त्यसैले शहीदहरुको स्मृति मात्रले पनि हामीलाई कर्तव्यपथतिर डोर्याउन मद्दत मिल्छ । देशमा व्याप्त अराजकता, स्वार्थीपना, भष्टा«चार, अनियमितता, जनउपेक्षाजस्ता अनुत्तरदायी व्यवहारले शहीदले देखाएको बाटो हामीले भुलेको छ होइन भन्ने आशंका गर्न वाध्य पारेको छ । शहीदहरु जसले आफ्नो देशको स्वतन्त्रता र देशको रक्षाकोलागि आफ्नो जीवनको बलिदान दिए त्यस्ता व्यक्तिहरुकोभावना र आकांक्षालाई बुझनु आवश्यक छ । शहीदको योगदानको चर्चा परिचर्चा शहीद दिवसको दिनमा मात्र गर्नाले यिनीहरुको योगदानको वयान सवैको मानसपटलमा रहदैन् । त्यसको गहिरो सम्झनाको लागि शहीद स्मारक, शहीद पुरस्कार, शहीद आवासगृह, शहीद स्मारिका, पुस्तिका प्रकाशित गर्नु, शहीदहरुको नाममा पार्कको स्थापना गर्नु पर्दछ । उनीहरुको योगदानलाई वर्षमा एकपटक मात्र सम्झना गर्दैमा पुग्दैन् त्यस्को लागि हामीले पल–पलमा आदर सम्मान गरी उनीहरुका इच्छा र आकांक्षाका अधुरा सपनाहरुलाई जीवन्त रुप दिनुपर्छ । आजको हाम्रो प्रमुख दायित्व भनेको नै शहीदहरुको सपना साकार पार्नु हो । देश र समाजमा भएका राजनीतिक, सामाजिक, साँस्कृतिक, शैक्षिक आदि क्षेत्रका विकृति र विसङ्गगिलाई निर्मुल पार्नु हो । शहीदहरुको रातो रगतले लेखिएको हाम्रो गौरवमय इतिहासलाई अवलोकन गरी अज्ञान र अशिक्षाले तड्पिरहेका शहीदका परिवारहरुलाई शिक्षाको उज्यालो धामले सिन्चीत गर्न रोजगारका अवसर दिलाउनु पर्छ । उनीहरुको सन्ततीहरुको उचित शिक्षाको सम्वद्र्धन र विकासको लागि अक्षयकोष स्थापना गर्नुपर्दछ । जसलेगर्दा शहीदका सन्तानहरुलाई पढ्नमा प्रेरणा प्राप्त होस् । उनीहरुको मर्म, भावना र उदेश्यलार्य बुझनको लागि विभिन्न संचारमाध्यमहरु जस्तै : रेडियो नेपाल, नेपाल टेलिभिजन, पत्र–पत्रिका आदि मार्फत सवैमा बोध हुनु आवश्यक छ ।
समग्रमा भन्नुपर्दा गत शनिबारबाट शहीद सप्ताह औपचारिक रुपमा शुरु भएको छ । मूलत: १०३ वर्र्षीय जहानियाँ राणाशासनको विरुद्धमा आन्दोलनमा होमिएका वीर सपूतहरुको सम्झनामा प्रत्येक वर्ष शहीद सप्ताह आयोजना गर्दै आइरहेको छ । फलत: राणाशासनविरुद्ध आन्दोलनमा सरिक हुनुभएका शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको बोटमा झुण्डाएर मृत्युदण्ड दिएको थियो । फलस्वरुप संसारका हरेक राष्ट्रिले आफ्ना वीर सपुत तथा शहीदहरुलाई उच्चकोटीमा राखी मूल्यांकन गर्दै आएका छन् । त्यस्ता हिमायती , कर्मठ देशभक्तहरु जसले आफ्नो राष्ट्रिय अखण्डतालाई जोगाउन ज्यानको पर्वाह नगरी शत्रुको गोलीसंग लडी अमरत्व प्राप्त गर्दछन् । सुनौलो इतिहासको पानाहरुमा हराएका विश्वमा नै अनगिन्ती यस्ता व्यक्तिहरु छन् जसलाई मरणोपूर्वाद्र्धमा लाञ्छना लगाइन्छ, देशद्रोही, राष्ट्रधाती आदि भनिने गरिन्छ । तर तिनै देशद्रोहीले मरणोपरान्त दिएको प्रेरणाको मार्ग पहिल्याइएपछि तिनलाई शहीद शव्दले पूजिन्छ । यसरी ती वीर शहीदहरु धेरै इतिहासकापानाहरुका सुनौला अक्षरले कँुदिएका छन् । इतिहासकारहरुले यस्ता महान व्यक्तिहरुको अनुसन्धान तथा खोजखवर गर्दै आएका छन् । यसको तात्पर्य के हो भोलिका भावी सन्ततिहरुले यहि मार्ग अवलम्वन गर्नुपर्ने हुन जान्छ । शहीदहरु पूजनीय एवं सवैका साझा सम्पत्ति हुन् । यस्ता अमूल्य सम्पत्तिको संरक्षण गर्नु, कदर गर्नु सवै क्षेत्रका जनता तथा राजनीतिज्ञहरुको संयुक्त जिम्मेवारी हुन आउंछ । वास्तविक भावनालाई बुझेर यदाकदा रुमलियएका शहीदहरुको युद्धस्तरमा खोजतलास गरी सक्दो सम्मान गर्नु सवैको कर्तव्य हुन आउंछ । त्यसैले आजको प्रजातान्त्रिक वातावरणमा हामी सवैले प्रजातान्त्रिक चरित्र निर्वाह गरी हाम्रा मुटुका ढुकढुकीलाई यथार्थरुपमा कदर गरी उनीहरुले पहिल्याएको बाटोमा अग्रसर हुन र भनाइअनुसार गराइमा परिणत गर्न सकेमा मात्र शहीदप्रति वास्तविक सम्मान गरेको ठहरिन सक्छ ।


1 Comment
Pingback: सच्चा शहीदको अवमूल्यन | Bishow Nath Kharel