‘ कहिँ नभएको जात्रा हाँडी गाउँमा भनेझै ‘ समाजवादको जलप लगाएर भविष्यमा पार्टी एकताको लक्ष्य सहित संसदका तीन र बाहिरको एक राजनीतिक दल मिलेर समाजवादी मोर्चा गठनका गरेका छन् । नेपाली जनताले यो एकतालाई संसयका दृष्टिले हेरेका छन् । यो पङ्तिकारलाई त अत्यन्त लज्जाबोध भएको छ । यो कस्तो प्रकारको मोर्चा हो ? कतै अस्तित्व संकटको रक्षाको लागि गठन भएको त होइन यो मोर्चा ? समाजवादको जलप नै किन लगाउनु प¥यो यी दलहरुलाई ? के समाजवादको जलप लगाउँदै जनताले विश्वास गर्लान् ? यो लोकतान्त्रिक समाजवादी मोर्चा हो कि कम्युनिष्ट समाजवादी मोर्चा ? कम्युनिष्ट समाजवादी मोर्चा भनौ भने कम्युनिष्टनीति,सिद्धान्त, विचार, दृष्टिकोणको कतै सानो झिल्का समेत देखिदैन यी दलहरुमा ।

– नन्दलाल खरेल
संसदमा प्रतिनिधित्व रहेका सत्तारुढदलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीपार्टीका साथै संसद बाहिरको विप्लवले नेतृत्व गरेको नेकपा सहितले ‘समाजवादी मोर्चा’ गठन गरेका छन् । यी दलहरु एक ठाउँमा आएपछि ५४ सांसद सहित एउटा निर्णायक शक्ति बनेकाे छ । तर आम नेपाली जनतामा भने कुनै आशाको सञ्चार भने देखिदैन । अर्थात नेपाली जनतालाई भने कुनै पत्यार छैन । यसको कारण नेपालका कम्युनिष्टहरुको विगत हो । माओवादी, एकीकृत समाजवादी जनता समाजवादी पार्टी तथा त्यसका नेताहरु पटकपटक टेष्टेड भइसकेका छन् । ‘अवसरवाद’को चौबाटो नै यी दलहरुको एकता हो । मुलुकलाई जनवाद, समाजवाद हुँदै साम्यवादको बाटोमा लाने उनीहरुको योजना पटक्कै होइन । वुर्जुवा संसदी यव्यवस्थालाई नै दीर्घकालिन रुपमा बलियो बनाई यसैमा आपूmहरुलाई समाहित गर्दै र रमाउदै राष्ट्रको दोहन गर्दै सत्तामा विराजमान हुने योजना हो भन्दा अत्युक्ति नहोला ।
अस्तित्व संकट रक्षाको लागि यी दलहरु एक ठाउँमा आएका हुन् ।२०७४ सालको आमनिर्वाचनमा केहीपार्टीहरुको एकताबाट नेकपा बनेको थियो । संगठित रुपमा निर्वाचनमा गएका कारण संघीय संसदमा उनीहरुको झण्डै दुई तिहाई बहुमत आएको थियो । तर, पदका कारण उनीहरु भित्रको मनोमालिन्य छता छुल्ल भएर सडकसम्म पोखिन पुग्यो । त्यसपछि माओवादी केन्द्र पूर्वस्वरुपमा फर्कियो भने माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टी स्थापना गर्नु भयो । जनता समाजवादी पार्टीबाट पनि बाबुराम र महन्त ठाकुरहरु बाहिरिएर आ–आफ्नै पार्टी खोले । त्यसपछि यी दलहरुमा संकट प¥यो । विप्लव नेतृत्वको नेकपा पनि टुक्राटुक्रामा विभाजित भयो । स्थानीयतहको निर्वाचनमा समेत भागलिँदा विप्लव नेकपाको जमाना जफत भयो । कहीँबाट एउटै वडा समेत आफ्नो पकडमा राख्न सकेन ।
यी सबै पार्टीहरु झन् भन्दा झन् संकटमा पर्ने निश्चित भएपछि सबैको स्वार्थको लागि यी पार्टीहरु मोर्चा बन्दै पार्टी एकताको लक्ष्य राखी अघि बढेका छन् । तर यिनीहरु बीच पार्टी एकताको संभावना एकदमै न्यून छ । पदीय व्यवस्थापनमा नै यिनीहरुको किचलो नहोला भन्न सकिन्न । माओवादी केन्द्रकाअध्यक्ष ‘प्रचण्ड’ यो योजनाका ग्राण्ड डिजाइनर हुन् । उनको योजना सधैभरी अरु घटकहरुले मान्लान भन्न पनि सकिन्न । प्रचण्ड एक अस्थिर, अवसरवादी, व्यक्तिवादी नेता हुन् ।
यो समाजवादी मोर्चालाई ‘जनता समाजवादी पार्टी’ भोलीका दिनमा भालुको कन्पर्ट हुन्छ । जनता समाजवादी पार्टी पहिलो संविधानसभाको पूर्वसन्ध्यामा संघीयताको माग सहित मधेस आन्दोलनको जगमा जन्मिएको मधेसी जनअधिकार फोरमको एउटा हिस्सा हो । विगत डेढ दशक अघि देखि एकता र विभाजनको अटुट शृंखलाबाट गुज्रिएको यो दल पटकपटक सत्ता र शक्तिमा छ । जनुसुकै दलको सत्ता बनोस र सत्तामा जानै पर्छ यो दललाई । यो दल क्रमश कमजोर बन्दै छ । किनकी उसले मधेसका मुद्दाहरु छोडिसक्यो । मधेसका मुद्दाहरु बोकेर सीके राउतको ‘जनमतपार्टी’ अगाडी आएको छ ।
अघिल्लो निर्वाचनमा ओलीसँग, गठबन्धन गरेर पराजित भएका थिए उपेन्द्र यादव । तर उनी अर्को चुनावसम्म धैर्यता गर्न सकेनन् । सत्ताधारी गठबन्धनसँग भीख मागेर उपनिर्वाचनबाट फेरी संसद छिरेका छन् । ०८४ को निर्वाचनसम्म पुग्दापार्टीको अस्तित्व समेत नरहने निश्चित प्रायः देखेपछि जनता समाजवादी पनि समाजवादी धु्रवीकरणमा आफ्नो राजनीतिक रक्षा गर्न चाहन्छ । भोलीको दिनमा फेरी सत्ताको अर्का ठूलो अवसर आयो भने उसलाई यो ध्रुबीकरण तोड्न कुनै आइतबार पर्खनु पर्दैन । तसर्थ यो भन्न सकिन्छ कि यो समाजवादी ध्रुवीकरण लामो समय टिक्दैन । जनता समाजवादी पार्टी यो धु्रवीकरणको लागि अभिसाप अर्थात बाधक बन्न सक्छ ।
हिजो ओली र प्रचण्डले नेतृत्व गरेका नेकपाले विप्लव नेतृत्वको पार्टी नेकपालाई पार्टीको गतिविधिमा प्रतिबन्ध गरी दमन गरेको थियो । प्रतिबन्ध लगाए पछि विप्लवले सत्ताका सामू झुक्दैनौ हाम्रो लक्ष्य वैज्ञानिक समाजवाद हो भनी कुर्लेका थिए । एकीकृत जनक्रान्ति मार्पmत वैज्ञानिक समाजवादमा जाने उद्देश्य राखिएको थियो । एकीकृत जनक्रान्तिको नाममा १२ जना सहिदहरु पनि भए । कैयौंको अंगभंग पनि भयो । वुर्जवा संसदीय व्यवस्थाको बाटोमा हिडेका प्रचण्डसँग कुनै पनि हालतमा सम्झौता हुदैन भनेका थिए । के आज कुन मुखले उनी प्रचण्डसँग नजिकछन् ? एउटै मोर्चामा बस्दैछन् ? एकीकृत जनक्रान्तिमा भएका सहिदहरुको जिम्मा अब कसले लिने ? यो महत्वपूर्ण र विचारणीय प्रश्नहो । आम नेपालीले यी सबै कुराको हेक्का राखेका छन् ।
प्रचण्डको नेतृत्वको माओवादी केन्द्र पार्टीको पथप्रर्दशक सिद्धान्त मालेमावाद हो । ०५२ साल फागुन १ गतेबाट ‘महान जनयुद्ध’ सुरु भयो । माओवादी ‘जनयुद्ध’ नेपालको इतिहासमा पहिलो योजनावद्ध क्रान्ति थियो । यसको मुख्य उदेश्य संसदीय व्यवस्था फालेर नयाँजनवादी व्यवस्था स्थापना गर्नु थियो । जनयुद्ध छोटो समयमै पुरानो सत्तालाई विस्थापित गर्दै जनसत्ताहरु स्थापना गर्न सफल भयो । २०६१ सालसम्म पुग्दा जनसत्ता स्वायत्ता प्रदेश,जनसरकार निर्माण गर्न स्तरमा विकास ग¥यो । देशभर दुई सत्ता, दुई सेना, दुई अदालत, दुई प्रशासन निर्माण भए । यस्तो स्थितिमा २०६० माघ १९ मा संसदीय व्यवस्थालाई ‘कु’गर्दै राजतन्त्र शक्तिमा आयो । सक्रिय राजतन्त्र शक्तिमा आएपछि नेपाली राजनीतिले नयाँमोड लियो । संसदवादीहरु कोहि जेल परे भने कोहि शक्तिहीन अवस्थामा लाखापाखा लागे । त्यही क्रममा चुनवाङ बैठकले संसदवादी दलहरुसँग संयुक्त मोर्चा बनाएर राजतन्त्र विरुद्ध जाने निर्णय गर्यो ।
त्यसका लागि लोकतान्त्रिक गणतन्त्र संविधानसभा र राज्यको नयाँ संरचना भन्ने कार्यक्रम तय भयो । त्यही नीति अन्तर्गत संसदवादीसँग माओवादीको रोल्पा सहमति भयो । त्यसको मुल मर्म सबै मिलेर राजतन्त्रको विरुद्धमा जाने र संसदवादीले जनयुद्धका प्रस्तावहरु सम्बोधन गर्ने भन्ने थियो । चुनवाङ बैठकमै संसदवादीसँगको सहकार्य गणतन्त्रसम्म हुने गणतन्त्रपछि संसदवादीहरु पुँजीवादी गणतन्त्रतिर फर्कने माओबादी पार्टी जनगणतन्त्रतिर बढ्ने भन्ने थियो ।
निरङ्कुश राजतन्त्र आएको सन्दर्भ र संसदवादी दलहरुले माओवादीका प्रस्तावहरुलाई सम्बोधन गर्ने सर्तमा राजतन्त्रसँग नगई संसदवादी दलहरुसँग सहकार्य गर्ने राजनीतिक कार्यनीति सिद्धान्तःप्रगतिशील र सह्रानियनै थियो ।
तर संसदवादीहरुसँग भारतमा ८ बुँदे र १२ बुँदे सहमति गर्नु अनि भारतको प्रतिनिधि समेत शान्ति प्रक्रियामा उपस्थित हुने अवस्था बन्नु गम्भीर कमजोरी थियो । संसदवादीहरुले विस्तारै माओवादी नेताहरुलाई किन्ने,भ्रष्ट पार्ने र राजनीतिक प्रस्तावबाट विचलित गर्नेतिर जोड दिए । प्रचण्ड र बाबुराम विदेशी र संसदवादी शाक्तिसँग झुक्न थाले । २०६९ मा पुग्दा प्रचण्ड बाबुरामले जनमुक्ती सेनालाई विसर्जन गरेर जनसेनाको व्यारेकमा नेपाली सेना हुलेपछि प्रचण्डपूर्ण रुपमा दलाल संसदीय वुर्जवा पथतिर लागे भने बाबुराम भट्टराई कम्युनिष्ट व्यानर नै छोडेर नयाँशक्ति नामको पार्टी खोली बिर्सनवादी बाटोतिर लागे ।यो समाजवादी गठवन्धन समाजवादको स्थापनाको लागि होइन । यो छलछामको गठवन्धनहो । किनकी यो गठवन्धन भनेको संशोधनवादी, दलाल पूँजीवादी,यथास्थितिवादी, प्रतिक्रान्तिकारी र फाँसीवादी गठवन्धन हो ।
वामपन्थीको ऐतिहासिक सन्दर्भ र अर्थ भनेको सत्ता र यथास्थितिको विरोधी भन्ने हुन्छ । तर यहाँ त पटकपटक सत्ताको उपभोग गर्ने र यथास्थितिको रक्षा गर्नेनै स्वघोषित बामपन्थी छन्। अझ यिनीहरुले कम्युनिष्ट भनेको त निजीपुँजी÷स्वामित्व र त्यसमाथि आधारित व्याक्तिवादको विरोध हुन्छ । कम्युनिष्ट भनेको साझापुँजी/स्वामित्व र त्यसमाथि आधारित सामूहिकताको पक्षघर हुन्छन ।
यतिमात्र होइन सो प्रप्तिका लागि निरन्तर संघर्षरत हुन्छन् । तर यहाँ त यसको विरोध हैन, सबैभन्दा बढी वकालत रक्षा र विकास गरिएको छ । के यिनीहरु सच्चा क्रान्तिकारी र समाजवादी हुन् ? भारतसँगका असमान सन्धि सम्झौताहरु खारेज गर्न सक्लान ? खुल्ला सिमानामा पर्खाल वा तारवार लाउने हिम्मत गर्लान ? के उनीहरुले स्वास्थ्य शिक्षा क्षेत्रको निजीकरण र व्यापारीकरण रोक्लान ? के उनीहरुले बढ्दो भ्रष्टचार रोक्लान ?के उनीहरुले औद्योगिक राष्ट्रिय पुँजीको विकास गरी युवाहरुको पलायन रोक्लान ? उनीहरुमा यसो गर्न सक्ने तागत पनि छैन र चाहदैनन् पनि । यी तमाम समस्याको समाधान अहिलेको राज्य व्यवस्थाबाट सम्भव छैन ।
अन्त्यमा यो समाजवादी मोर्चाको गठबन्धन शान्ति, विकास, समानता र न्यायका लागि होइन । समाजवाद त टाढाको कुरा भयो । यीनै अनुहारबाट देशले समाजवाद प्राप्त गर्दैन । समाजवादी सिद्धान्त, विचार, दृष्टिकोण र व्यवहार कत्तिपनि यिनीहरु सँग छैन । उनीहरुको चरित्र नै सत्तामुखी छ । उनीहरुको व्यवहारले सत्ता स्वार्थ बाहेक केही देखाउदैन । यथार्थमा उनीहरु आफैं मिलेका होइनन् । साम्राज्यवादी शक्तिहरुले एक ठाउँमा ल्याइदिएका हुन् । तसर्थ आम नेपाली यसतर्फ सचेत हुन जरुरी छ ।

