– नन्दलाल खरेल
नेपाली राजनीतिमापुष्पलाल र वीपीदुई वरवृक्ष हुन् । हरेकवर्ष साउन ७ र ६ गते यीदुई बटवृक्षको खुवै चर्चा चल्छ भने अन्य समय फाटफुट्ट मात्र चल्ने गर्दछ । यीदुई बटवृक्षले नेपालको राजनीतिलाई नयाँदिशा र विचार दिए । प्रत्येक व्यक्तिको स्वतन्त्रता र समानतालाई सकारात्मक रुपमा उपयोग गर्नुपर्छ भन्ने यीदुई बटवृक्षको समानधारणा पाइएको छ । आज पुष्पलालले निर्माण गरेको कम्युनिष्ट आन्दोलन विभाजित अवस्थामा छ । जनमत र शक्तिका हिसावले कम्युनिष्ट बलियो रहेता पनि कम्युनिष्टआन्दोलन भित्रका अनेकौं विकृति र द्वेषका कारणले एक आपसमा लड्ने अवस्था सिर्जना भएको छ । अर्कोतिर वीपी कोइरालाको सपनालाई पटकपटक भजाएर सत्तामा गएको कांग्रेस पनि विभिन्न गुटउपगुटमा विभाजित छ । यति सम्म कि पटकपटक आफ्नै कारणले सत्ता समेत ढलेको छ । उसले वीपीको सपनालाई एक छेउसम्मपनि समेटेको छैन । यीदुवै बटवृक्षलाई उनीहरु जन्मदिन र स्कृति दिवसमा मात्र होइन सधैं सम्झिए हुन्थ्यो । उनीहरुको विचारको मार्गलाई कम्युनिष्ट र कांग्रेसका अनुयायी हुँ भनेर दावी गर्नेहरुले । तर दुर्भाग्य आज कम्युनिष्टमै पुष्पलाल खोज्नुपर्ने अवस्था छ भने कांग्रेसमा वीपी खोज्नु पर्ने।
पुष्पलाल र बीपी नेपाली राजनीतिका दुई शिखर व्यक्तित्व हुन् । यिनै दुई शिखर व्यक्तित्वको शाखलाई भजाएर नेपाली काँग्रेस र कम्युष्टिघटकहरुले सत्ता संचालन गरिरहेका छन्, नेपाली राजनीतिक इतिहासमा । यद्यपि नेपाली काँग्रेस र कम्युनिष्ट घटकहरुले राष्ट्र र जनताको पक्षमा ती शिखर पुरुषले देखाएको मार्ग दर्शनलाई हजारौं कोष टाढा राखी शासन गरिरहेका छन् । तिनै दुरदर्शी राजनेता बीपीको ४० औं स्मृतिदिवस साउन ६ गते हो भने पुष्पलालको ४५औं दिवस साउन ७ गते हो । पञ्चायतकालमा नेपाली काँग्रेसले बीपी स्मृति दिवसका अवसरमा रचनात्मक कामहरु गर्दथ्र्यो । तर प्रजातन्त्र पुनर्वहालीपछि भने बीपी स्मृतिदिवस कर्मकाण्डमै सिमित हुने गरेको छ । त्यस्तै गरेर हालको सत्तारुढ कम्युष्टि घटकहरुले पनि पुष्पलालको आदर्श, दर्शनलाई त्यागी दलाल पुँजीवादी राजनीतिक व्यवस्था अवलम्वन गरी राज्यको दोहन गर्ने कार्य मै अगाडी बढेको छ । अन्य नेपालका सानातिना कम्युनिष्ट विचारक शक्तिहरुमा पनि पुष्पलालको राजनीतिक दर्शनको कमी छ । तैपनि सत्तारुढ कम्युष्टि घटकहरु र अन्य कम्युनिष्ट शक्तिहरुले एकदिन भएपनि पुष्पलाललाई सम्झिने गरेका छन् ।
बीपीकोइराला नेपाली राजनीतिका प्रजातान्त्रिक योद्धा हुन् । उनी नेपाली काँग्रेसका सभापति हुन् । बीपीले संघर्षलाई सर्वोपरी ठाने । मुलुकको मुहार फेर्न उनले सशस्त्र क्रान्ति गरे । उदार लोकतान्त्रिक शासन प्रणाली, स्वतन्त्र र भय रहित समाजका खातिर थियो । उनले राजनीतिक स्वतन्त्रताको मात्र कुरा गरेनन् समाजवादी अवधारणाको नीति बनाई अगाडीबढेका थिए । बीपीको विचार कहिल्यै जड रहेन । उनले आफ्नो विचारलाई समयानुकूल बदलेका पनि हुन् । त्यसै अनुरुप लोकतान्त्रिक आन्दोलनको स्वरुप र ढाँचामापनि परिवर्तन गरेका थिए । हरेक मानिसलाई आर्थिक रुपमा सम्पन्न बनाउनु पर्छ भन्ने मान्यता बोक्थे । बीपीको सपना थियो – एउटा सानो घर होस्, खानपुग्ने गरी जग्गाहोस्, एउटा दूधखाने गाई, भैंसी होस्, कुनै पनि बच्चाबच्ची स्कुल जानबाट बन्चित नहोस र सवै नागरिकको स्वास्थ्य सेवाको पहुँच होस् । उनको आफ्नो शासनकालमा राष्ट्रिय योजना आयोगका प्रमुखलाई बोलाएर भन्ने गर्दथे, ‘तपाईहरुले आफ्नो कार्यकक्षमा राजामहाराजाको फोटो मात्र राख्ने होइन त्यहाँ हलो जोतिरहेको एक किसानको फोटो पनि राख्नु पर्छ अनि त्यहि किसानलाई हेरेर योजना बनाउनु पर्छ भन्थे ।’ नेपालको विकास भन्नु नै गाउँको विकास हो । गाउँको विकास नगरी देशको विकास हुदैन भन्नु हुन्थ्यो बीपी । तर आज नेपाली काँग्रेस बीपीको समाजवादी अवधारणलाई धोती लगाइदिएको छ । बीपीको समाजवाद एकादेशको कथामा परिणत भएको छ । नेपाली काँग्रेस सत्तामा होस्, प्रतिपक्षमा होस् उसको बाटो दलाल पूँजीवादी यात्रातिर छ । कसरी हुन्छ राज्यका स्रोत र साधनहरु साम्राज्यवादीहरुलाई सुम्पी उसले दिएको जुठो पुरोबाट एकैचोटी अरवौं खरवौं कमाउने गरेको छ । आफ्नो शासनसत्तामा हुँदा खेरी सार्वजनिक स्वामित्वमा रहेका दर्जनौं उद्योगहरुलाई कौंडीको भाउमा बेचेको इतिहास साक्षी छ ।
बीपी लोकतान्त्रिक र समाजवादी आन्दोलनमामात्र सीमित रहेनन् राष्ट्रियताको पक्षमा पनि खरो रुपमा उत्रन्थे । राष्ट्रियता मुलुकको राष्ट्रिय संस्था र जनजीवनसँग जोडिएको विषय हो भन्ने उनको बुझाई थियो । बीपीले जहिल्यै पनि देशभक्तिपूर्ण राष्ट्रवादलाई जोड दिएको देखिन्छ । ‘राष्ट्रियताको चुरो नै छैनभने मैले के समात्ने?भन्ने बीपीको भनाइले यसलाई इंगितगर्छ । बीपीले राष्ट्रवादी शक्ति र यसका धरोहरलाई आत्मसात् गरेका थिए । हाम्रा भाषा, भेषभूषा, पहिचान, संस्कृति एवं सम्पदाहरु नै हाम्रो राष्ट्रियता हो भन्ने बीपीको बुझाई थियो । त्यो बुझाई अझबढी सान्दर्भिक हुँदै गएको छ । बीपीले नेपालको राष्ट्रहित र स्वाभिमानलाई पार्टी, पद र प्रतिष्ठाभन्दा निकै माथि राखेका थिए । तर आज उनका अनुयायीहरु अर्थात नेपाली काँग्रेसका नेताहरु पार्टी, नीति र सिद्धान्तभन्दा पद, प्रतिष्ठालाई केन्द्रमा राखेर काम गरेका छन् ।
नेपाली राजनीतिका अर्का शिखर पुरुष कमरेड पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनका प्रणेता हुन् । उनी महान् अमर शहिद गंगालालका सहोदर भाई हुन् । पुष्पलाल नेपाली राजनीतिक इतिहासका एक राष्ट्रिय व्यक्तित्व हुन् । त्यतिमात्र होइन उनी शोषित, पीडितजनताका पक्षमा उभिने विचारक, सिद्धान्तकार र योजनाकार पनि हुन् । पुष्पलालले त्यतिबेलाको नेपाली समाजलाई राम्रोसँग चित्रण गरेका थिए । उनको प्रमुख उद्देश्य थियोः समाजको द्वन्दात्मक भौतिकवादी वैज्ञानिक दृष्टिकोणको आधारमा वर्गीय शोषण र जातीय उत्पीडनबाट नेपाली समाजको मुक्ति । पुष्पलालले जहिल्यै पनि तिन‘स’ को विषयमा जोड दिन्थे ः सिद्धान्त, संगठन र संघर्ष । सिद्धान्त विना संगठन हुदैन, संगठन विना संघर्ष हुदैन भन्ने उहाँको बुझाई थियो ।
कमरेड पुष्पलाल अन्यन्त सादा विचार र सादा जीवनका प्रतिमूर्ति थिए । पार्टी प्रशिक्षण दिंदा उनले सदैव ‘जसले आफ्नो देशको इतिहास, संस्कृति, भूगोल र समाजका बारेमा यथेष्ठ अध्ययन गर्दैन त्यसले नेपाली समाजको अग्रगामी तथा आमूल परिवर्तनका लागि कुनै सार्थक योगदान दिन सक्दैन’भन्ने कुरा एकदमै प्रष्टसँग औल्याउदथे र सवै परिवर्तन कार्यलाई कम्तिमा पनि नेपाल र विश्वको अमेरिकी स्वतन्त्रता संग्रामको इतिहास, बेलायतको औद्योगिक क्रान्ति तथा विश्वमा चलिरहेका साम्रज्यवाद तथा उपनिवेशवाद विरोधी आन्दोलनहरुको ज्ञान, परिवर्तनकामी शक्तिहरुमा हुनै पर्दछ भन्ने कुरामा जोड दिन्थे । पुष्पलाल जनतामाथि शोषण र अन्याय गर्ने व्यक्ति विरुद्ध निरन्तर संघर्षशील र कहिले नझुक्ने दृढता, परिवर्त प्रतिको दृढ संकल्प, उच्च साहसले उनी ओतप्रोत थिए । उनको यो व्यक्तित्वले गर्दा उनलाई भेट्ने नेता कार्यकर्ता पुष्पलालप्रति सम्मान र आदरको दृष्टिले हेर्दथे र प्रभावित हुन्थे ।
राजनीतिक विश्लेषक कृष्णखनालका शब्दलाई सापटी लिंदै भन्नु पर्दा बीपी र पुष्पलाल दुवैको राजनीतिक प्रारम्भ समान उद्देश्य–निर्देशित थियो – राणाशासनको समाप्ति र लोकतान्त्रिक समाजको निर्माण । यद्यपि राणाशासन समाप्तिपछि राजनीति र लोकतन्त्रको बाटोका बारेमा दुवैमा मौलिक भिन्नता थिए । बीपी उदारवादी लोकतन्त्रको राजनीतिक संरचनामा समाजवादी आर्थिक–सामाजिक नीतीका पक्षमा थिए भने पुष्पलाल साम्यवादी राजनीतिक एवं आर्थिक संरचनाका पक्षमा । सिद्धान्ततःदुवै माक्र्सवादी विचारबाट प्रभावित तर राजनीतिक र पार्टीगतबाटो भिन्न थियो । झट्ट हेर्दा कहिल्यै नमिल्ने समानान्तर शत्रुगतजस्तो पनि लाग्छ । त्यस बेला काँग्रेस–कम्युनिष्ट द्वन्द्व तीव्र सैद्धान्तिक प्रतिद्वन्द्विता र तत्कालीन विश्व राजनीतिको स्वाभाविक प्रभाव थियो । तर निर्दलीय पञ्चायतको प्रभाव र दरबार–निर्देशित कांँग्रेस–विरोधबाट मुक्त थियो उनको राजनीति । त्यसैले राजाको निरंकुशता विरुद्धको आन्दोलनमा बीपी र पुष्पलालबीच कुनै सैद्धान्तिक वा पार्टीगत मत भिन्नता थिएन ।
अन्त्यमा आज कांग्रेस र कम्युनिष्टघटकहरुले सत्ता सञ्चालन गरिरहेका छन् । नेपाली कांग्रेस वीपीको आदर्श सिद्धान्त र समाजवादको बाटोमा चिप्लिसकेको छ । संसदिय कम्युनिष्टहरुले देश, जनता, गरिव, मजदुर, किसान र उत्पीडित जातजातीहरुको मुद्दाहरु छोडीसकेको छ । राजनीतिक तथा आर्थिक नीतिमा अहिले कम्युनिष्टघटकहरु र नेपाली कांग्रेसमा कुनै भिन्नता नभए जस्तो देखिएको छ । यी दुवै कांग्रेस र कम्युनिष्ट घटकहरुले वीपी र पुष्पलाल सम्झिनु भनैको बाहुनले श्राद्धगर्दा विरालो बाधेर गरेजस्तो कर्मकाण्डमात्र देखिएको छ ।

