नाम : ताराबहादुर बुढाथोकी
ठेगाना : खाँदबारी
काठमाडाै पुष, १७ २०७९ पौष १४ गते बिहान प्रकास कुलुङ्जीको फोन आयो।मलाई मिनारी दाक्चाम चक्चाकुरकाे निम्तो गर्नु भयो। कुरोको सन्दर्भ चाहिँ वुद्धि कुलुङ्जीको जय शिलिचोङ गीत बिमोचन गर्ने कार्यक्रम समाबेश भएको र उक्त गीतको समीक्षा गर्ने जिम्मेवारी सहित निमन्त्रित भएँ। बिहान दश बजे नयाँबजारबाट र्र्याली झर्यो।दिउँसो जिल्ला समन्वय समितिको हलमा मन्चको कार्यक्रम भयो।जिल्ला अध्यक्ष प्रकास कुलुङको सभापतित्व र केन्द्रीय अध्यक्ष चन्द्रसिँह कुलुङको प्रमुख आतिथ्यमा सुमन शाक्य,महेश थपलिया,दौलत कुलुङ,अस्मिता कुलुङ् र सिलिचोङकै उपप्रमुख लगायतको आतिथ्य रह्यो।आफू पनि अतिथि दीर्घामा नै आसीन बन्न पुगियो।मिनारी दाचाम चाचाचुरको उद्घाटनमा मुख्य अतिथिले बटुकोको पानीमा कटुसको स्याउली चोपेर छर्किनु भयो र सबैले तरल सगुन ग्रहण गरेर शुभारम्भ भयो। कुलुङ् वौद्धिक एवम् संस्कृतिविद्हरु ,मेवाहाङ् संस्कृतिविद् गणेश मेवाहाङ,अतिथि गणको मन्तब्य साथमा कुलुङ्को चारसिल नाच सहित कार्यक्रम अघि बढ्यो।कुलुङ्को पृथक पहिचान छ तसर्थ कुलुङलाई जनजातिमा सुचिकृत गर्नुपर्छ। पौष पन्ध्र चाँड त हुँदै हो,अभियान पनि हो भन्ने मन्तब्य र प्लेकार्ड हरुको मर्म थियो ।साल्पा सिलिछो प्रमुख दौलत र खाँदबारी नगर प्रमुख महेशले आसन्न हिउँदे अधिवेसनमा कुलुङलाई सुचीकृत गर्ने घोषणा गरे।
कार्यक्रमको मध्यभागमा कुलुङ् समुदायबाट २०७९ को निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु,कुलुङ समुदायबाट कार्यालय प्रमुख बनेका निजामति र कुलुङ समुदायको संस्थालाई जगेर्ना गर्ने संस्थापकलाई टोपी,माला,अबिरले सम्मानित गरिए।मन्चीय कार्यक्रमको उत्तरार्धमा वुद्धि कुलुङ अर्थात ओझेल लकुवाली लिखित पालिका पहिचान गित बिमोचन भयो। गितबारे समीक्षा गर्दा गितमा सिलिचोङ गाउँ पालिकाको दुरदृष्टिमा लेखिएको समावेशिता, समृद्धि, सद्भाव, एकता,पहिचान र सपनाहरु समेटिएकोले केही संशोधन गरेर पालिका गान बनाउन सुझाइयो।
संस्कृत कतै बाँचेको छ भने त्यो किराँत जातिमा हो भन्छन्। नभन्दै पुष १५ को साँझ खाँदबारी १ स्थित सातकुवामा निर्मित कुलुङ भवनमा पुगेपछि देखियो। तिनतले पक्की उक्त भवनको भुइँतलामा पितृ पुजा गर्ने चुलो,बिच तलामा सेमिनार हल र सिरान तलामा विविध प्रयोजनको लागि ब्यवस्थित पाइयो। किराँतले चुलो पुज्छन् भन्ने सुनेको थिएँ आज देखेँ।ओहो१तिन ढुङ्गाको चुलो वरिपरि पुर्खाहरु बसेर अघि तयार गरिसकिएको रहेछ।बाँसक आँख्ला खिपेर बनाइएका बटुकाखोङ्,थाल, डाडू लेम, एकापट्टिको आख्ला फालेर भात चाचा र ढिँढो युवा, पकाउन मुखमा स्याउलाको बुझो खाँदेर आगोमै पोलेको पिटिटिउ,हरियो पातको दुनाखोँची,भालुबाँसको दुई आख्लामा डुँड पारेर भात तिहुन राख्ने र खाने दुई छुट्टा छुट्टै बाँसका डुँड,ढिँडो खाने चोयाले बुनेका डालाहरु सबै चिज तयार देखिन्थे।
चुलोको ठीक माथि राप र धुवाले भेट्ने ठाउँमा केही काठ तेर्स्याएको एउटा भार छ,जहाँ देवता बस्छन्।त्यो भारमाथि चोयाले बुनेको भार छ।उक्त भारमा तिन सुरमा तीनओटा पेरुङ्गो छेस्कु बाँधेको छ।पेरुङ्गोको उत्पत्ति कथा मुन्धुमसँग सम्बन्धित रहेछ।फोप्पाले जाल हान्दा धेरैपटक एउटा लोहोरो जालमा परेको,ल्याएर पेरुङ्गोमा भारमाथि राखेको,पेरुङ्गोबाट हाम्फालेर सुन्दर युवती बनी फोप्पाको घरधन्दा गरेको,फोप्पाले चाल पाएर उनैलाई मोम्मा बनाएर सृष्टि भएको आदि। उत्तर तिरको चुलो ढुङ्गाको सिधा माथि भारमा पितृ बोलाएर राख्ने खापा साम्फे रहेछ।भारमुनि राजा अन्न मकैको झुत्ता देखियो।
पहिले मा्ङ्तेवा घर भइ हाल धरान बस्ने अगुवा बिबसै कुलुङले सुप्तुलुङ पुज्न अघि जानकारी गरी बोलाउनु पर्छ भनेर निकै उच्च स्वरमा कुरा थाले हाम्रो पुर्खाले एक बर्षसम्म राखेको अन्नको भण्डार भकारी चलाउन नक्षेत्र हेर्थ्यो।साइत राम्रो छैन भने चरामुसाले खाएर भुष बनाउँथ्यो।राम्रो छ भने जस्ताको तस्तै निस्कन्थ्यो।आजको दिन कुखुराको माउ ओथारा बस्यो भने बच्चा निस्कन्छ तर दिनरात परिवर्तनले गर्दा बच्चा फनक्क घुमेर फर्केर गैहाल्नुपर्छ,त्यसलाई कुलुङ भाषामा नामाया भन्छौँ।म त सुन्ने मात्रै हो ,जति जानेको छ त्यति सुनाएँ।संसारभरिको कुलुङ एक हौँ भनेर पुजा गरुँ।
अब एकजना पुर्खाले बाँसको डाडूले सुप्तुलुङ्म पाखालुङ्, माखालुङ् र साम्बेलुङ्लाई चढाए। एकजना पुर्खाले बखान गर्छ र अरुले गीत्यात्मक लयमा हुटिङ गर्छन्।दाहिने हात्ले डाडू समातेर पहिले पाखालुङ अर्थात् बाबुपट्टिको पितृ,माखालुङ् आमापट्टिको पितृ,अनि साम्बेलुङ इष्टमित्र पितृलाई चढाउँछ। सातफेरा चढाएपछि उत्तरपट्टि रहेको भित्ताको भारसाम्फेमा पितृलाई चढाउँछ।सकिएपछि मुल्केरीको शिरमा पगरी बाँधि दिएर कठुवामा रक्सी दिँदा रहेछन्।सिर उठाएको भन्थे।अनि अगुवा पुजारीले मुड्कीले हानेर भात र ढिँडो पकाएको पिटिटिऊ फुटाए।त्यहाँबाट निस्केको भात र ढिँडो हातहातमा,हाँडी फिटेर पकाएको सिस्नो,पातको दुनामा रक्सी र गोरुको मासु प्रसादको रुपमा वितरण र ग्रहण भयो।पुर्खाहरुले भने हाम्रो पुर्खहरुले गरि ल्याएको धर्म हामीले छोडेको छैनौँ।अरु जातिले के कति निरन्तर गरे थाह छैन।
साच्चै थुतुरीवेद त यो पो रहेछ।अनि हरेक गतिबिधि वातावरण मैत्री र जैविक छ।मिनारी भनेको मानिसको पौरख, दाचाम भनेको भकारी ,चक्चाचुर भनेको पुष १५ गते नया बर्ष चासुम भनेको खाने र मिन्दोङ भनेको पनि नयाँवर्ष नै रहेछ। यालेदोङ पनि भनिने यो चाड नजिकैबाट हेरेपछि पो थाहा भो,यालेदोङ, थुतुरीवेद र प्रकृतिका पुजारी कुलुङ जातिको मौलिक पहिचान।
