काठमाडौँ — उपभोक्ता संरक्षण ऐनअनुसार उल्लङ्घन गरेको ठहर भएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरेको छ। विभागले आइतबार रूपन्देही र काठमाडौँ क्षेत्रका उद्योग तथा प्रतिष्ठानमा एकैदिन गरेको बजार अनुगमनका क्रममा ऐनविपरीत गतिविधि भेटिएको भन्दै कारबाही गरेको हो।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ तथा दफा ३८ बमोजिमको कसुर फेला परेपछि सोही ऐनको दफा ३९(१) अनुसार जरिवाना गरिएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ। वस्तु तथा सेवाको गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा तथा बिक्री–प्रक्रियामा देखिने बेथिति ऐनअनुसार अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप मानिने व्यवस्था छ।
ऐनको दफा ३९ ले बजार अनुगमनका क्रममा तत्काल प्राप्त प्रमाणका आधारमा उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता वा सेवा प्रदायकले कसुर गरेकाहरूलाई निरीक्षण अधिकृतले दुई लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान गरेको छ।
अनुगमनमार्फत विभागले तिरूपति फुड प्रोसेसिङ इन्डस्ट्रिज, सिद्धार्थनगर रूपन्देहीलाई पनि दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरेको छ।
यता पञ्चकन्या स्टीललाई विभागले सामान्य निर्देशनमा मात्र छाडेको छ। विभागले आइतबार आकवा मिनरल्स, त्रिकोण बेभरेज, कुण्डपानी प्रशोधन उद्योग, अन्नपूर्ण इन्डस्ट्रिज, एनबी बेभरेज, शुभकामना मिनरल वाटर एन्ड बेभरेज, चण्डेश्वरी मिनरल वाटर एन्ड बेभरेज, झरना प्योर ड्रिङ्किङ वाटर तथा कीर्तिपुर सहकारी खानेपानी उद्योगमा स्थलगत अनुगमन गरेको थियो।

