हेमबहादुर कार्की
मंसीर १७, काठमाडौं । परिवर्तन निरन्तर चलिरहेने प्रकृया हो । यथास्थिति शब्दबाहेक अरु सबै चिज परिवर्तनशील छ । परिवर्तन प्रकृतिको शास्वत सत्य हो । मान्छे सँधैं समय, परिस्थिति र वातावरणसँगै यथास्थितिमा नुतनता खोजिरहेको हुन्छ । परिवर्तन मानवीय स्वभाव हो । स्वभावैले मानिस परिवर्तन उन्मुख हुन्छ ।
यसैगरी नेपाली जनता पनि यथास्थिति राजनीतिबाट परिवर्तनउन्मुख छन् भन्ने प्रमाण हालै मंसीर ४ गते सम्पन्न निर्वाचनको परिणामले देखाएको जगजायर नै छ । ठूला राजनीतिक दल नेपाली काँग्रेस, एमाले र माओवादी कसैले पनि बहुमत ल्याउन सकेनन् । कारण थियो- ठूला दलका नेताहरुको भागबण्डाको राजनीति, जुँगाको लडाइँ, अवसरमा व्यक्तिवाद, फरियावाद र गुटबाद, विकास बजेटको दुरुपयोग, आदि कारण । यस्तो विकृत राजनीतिक संस्कारले जनतामा चरम निराशा र ठूला दलप्रति वितृष्णा बढाएको छ ।
यसपटकको संसदीय निर्वाचनमा रवि लामिछाने सभापति भएको राष्ट्रिय स्वतन्त्र पार्टी, सिके राउतको जनतम पार्टी र रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टी नयाँ बैकल्पिक शक्ति बनेर उदाएका छन् । चुनाबमा राम्रो प्रचार प्रसार गर्न नपाएका र चुनाबको केही समय अघिमात्रै गठन भएका यी नयाँ पार्टीप्रति जनताको आशा र भरोसा रहेको मत परिणामले देखाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ७, नागरिक उन्मुक्ति पार्टीले ३ र जनम पार्टीले १ स्थानमा जित हासिल गरेको छ भने ५ जना स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् ।
कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मध्ये ६१ प्रतिशत मतदानमा सहभागी हुँदा देशभरबाट एक करोड ९ लाख ७० हजार बढी मतदान भएको देखिन्छ। राष्ट्रिय दल बन्न खसेको सम्पूर्ण मतको तीन प्रतिशत ल्याउनुपर्ने हुन्छ । जसमध्ये रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ एघार प्रतिशत अर्थात ११ लाख २३ हजार ९०२ मत पाएर समानुपातिकको एमाले, काँग्रेस र नेकपा माओवादीपछि चौथो स्थानमा रहेको छ । यस मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ १२ सिट पाउने देखिन्छ । प्रत्यक्ष र समानुपातिक गरी यस पार्टीको लगभग २० जना सासंसद हुने देखिन्छ ।
उनको पार्टीको प्रभाव काठमाडौं उपत्यका र चितवनमा बढी देखिएको छ । पार्टीका रुपमा चुनाब अघिमात्रै उदाएर पनि संसदीय चुनाबको प्रत्यक्षतर्फ ७ सिट जित्न सक्नु गर्वको विषय हो । परिवर्तन र विकासका लागि नयाँ पुस्ताको आवश्यकतालाई जोडदिँदै चुनाबमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजाने टुंगोमा पुगेको छैन र यस पार्टीले राइट वा लेफ्ट कुन राजनीतिक शक्तिप्रति झुकाब राख्छ र आगामी दिनमा विकास र जनसेवामा कसरी काम गर्छ भन्ने कुराले यो पार्टीको सफलता र असफलता निर्धारण गर्ने देखिन्छ । विकासमा भएको भ्रष्टाचार, राजनीति र सरकारमा भएको बेथितिको वकालत गरेर जनतामा छाएका रवि अब आँफै गर्ने स्थानमा आइपुगेका छन् । एमाले वा काँग्रेस कुन दलतिर झुकाब राख्छन् र सरकारमा सामेल हुन्छन् हुँदैनन् त्यो केही समयपछि थाहा पाइएला । तर जनतामा नयाँ आशा र रक्तसञ्चार भर्न उनी सफल भने भएका छन। यसैले उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ७ स्थानमा युवा उम्मेदवारले जितेका छन् । काठमाडौं र चितवनका बढी जनताले आशा र भरोसा राखेर उनलाई र उनका युवा नेतालाई जिताएका छन् । मिडियाबाट अरु पार्टी र नेतालाई गाली गरिरहँदा काम गर्ने ठाउँमा आएर पनि काम गर्न सकेनन भने जनतामा अझै बढी निराशा बढ्ने कुरामा उनी सचेत हुनु आवश्यक देखिन्छ । अमेरिकाको ग्रिनकार्ड त्यागेर देशमै केहीँ गरौं भन्ने चाहना राखेर नेपाल फिरेका रवि लामिछानेले बोलेअनुसार जनताको पक्ष काम गर्न सकेमा युवा पुस्ताका लागि प्रेरणा बन्नेछन् । तर, बहुमत पुरानै पार्टीको रहने, सरकार पुरानै पार्टीले चलाउने र सत्तामा पुरानै दलका वृद्ध नेताहरुको हावी भइरहने अनि कर्मचारीतन्त्रको विकृत कार्यशैलीका अगाडि उनी पनि नतमस्तक भए भने जनतामा निराशा फैलिने कुरामा रवि लामिछाने सचेत रहनुपर्ने देखिन्छ ।
यसैगरी अर्को नयाँ उदाएको पार्टी सिके राउतको जनमत पार्टीले समानुपातिकतर्फ ३.८ प्रतिशत अर्थात् ३९४५०२ मत पाएको छ । यस अनुसार समानुपातिकतर्फ ४ जनासम्म सांसद हुने देखिन्छ । प्रत्यक्ष र समानुपातिक गरी यस पार्टीको लगभग ५ जना सासंसद हुने देखिन्छ । रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा ३ जना जितेको छ जसको समानुपातिक मत २७१६५९ रहेको छ । राष्ट्रिय पार्टी बन्न ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन यस पार्टी नसक्ने देखिन्छ तर प्रत्यक्षतर्फ ३ सिट जितेर कैलाली लगायत थरुहट क्षेत्रमा यसको प्रभाव रहेको संकेत गर्दछ ।
प्रत्यक्षतर्फ सप्तरी २ नम्बर क्षेत्रबाट मधेश आन्दोलनबाट मुख्य रुपमा उदाएका नेता उपेन्द्र यादवलाई डा.चन्द्रकान्त राउत अर्थात सिके राउतले मजाले हराएका छन् । यसपटकको निर्वाचनमा मधेशका मुद्धालाई बोकेर मधेशमा पकड जमाएका जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल नराम्ररी हारेका छन् र यी पार्टीहरुलाई मधेशमा हालै उदाएको सिके राउतको जनतम पार्टीले पछाडि धकेल्ने संकेत देखिन्छ । मधेशका दलहरु सत्ताको लागि सिद्धान्तमा अडिग रहनेभन्दा पनि सत्तामोहमा फस्ने र मधेशी जनताको हकहित र विकासका सवाल भुल्ने आरोप लागेका कारण सिके राउतको नयाँ जनमत पार्टीले मधेशमा आशाको दियो बालेको देखिन्छ ।
सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत रहँदा रहँदै मधेशको विकास र जनताको हकहितका लागि भन्दै सन् २०११ को अन्त्यतिर राजीनामा दिई नेपाल फर्किएका हुन्। पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर जापानमा मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज यूनिवर्सिटीमा विद्यावारिधि गरेका राउत अध्ययनमा काबिल छन् । उनको विद्वता मधेशी जनताको सेवामा लगाउने उनको अठोटले मधेशी जनतामा आशाको किरण छरिएको छ । शनिबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै उनीहरूको आशालाई निराश हुन नदिने गरी रातदिन काममा खटिने योजना पनि रहेको बताएका छन्। आफूले कतै पनि बाटो बिराएको खण्डमा एकदम निर्धक्क भएर रोक्न उनले आग्रह गरेका छन्। अध्यक्ष राउतले जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढ्ने पनि पटकपटक दोहोर्याए। उनले निर्वाचनमा ठूलो आशा र भरोसाका साथ आफ्नो पार्टीलाई मतदान गरेको भन्दै मतदाताहरूलाई धन्यवादसमेत व्यक्त गरिरहँदा अबका दिनमा कसरी काम गर्छन् र कस्तो परिणाम दिन्छन् त्यसले उनको नयाँ पार्टीको भाग्य र भविष्य निर्धारण गर्ने कुरामा दुईमत छैन । उनी लोकतान्त्रिक खेमामा लाग्ने उनको संकेत देखिन्छ । उनको उच्चशिक्षा पनि पश्चिमी मुलुकबाटै भएको हिसाबले र उनमा उतैको प्रभाव रहने हुँदा उनी नेपाली काँग्रेससँग सहकार्य गरी सरकारमा सामेल भएर मधेशी जनताको सेवा र विकासमा लागि पर्ने देखिन्छ । उपेन्द्र यादव र महन्थ ठाकुर झैं सत्तामामात्रै रमाउने प्रवृत्ति देखेर आजित भएका मधेशी जनताले सिके राउतबाट ठूलो आशा र अपेक्षा गरेको मतदानबाट देखियो । उनको पार्टी सानै भएर भर्खर जन्मेको भएपनि राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।
यसअघिको निर्वाचनमा जेलमै रहेर प्रतिनिधिसभामा चुनाब जितेका रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको छ । यस राजनीतिक दलको वर्तमान अध्यक्ष रेशम चौधरीकी धर्मपतन्त्री रञ्जिता श्रेष्ठ हुन्। कैलालीमा ५ वटा निर्वाचन क्षेत्र रहेकामध्ये कैलाली १, २ र ३ क्षेत्रमा यो नागरिक उन्मुक्ति पार्टीले जितेको छ भने समानुपातिकतर्फ २७१६६० मत प्राप्त गरेको छ । समानुपातिकमा ३ लाख मत कटाउन नसकेर यो पार्टी राष्ट्रिय दल बन्न नसकेपनि यस पार्टीप्रति कैलालीका थारु जनताको आशा र भरोसा रहेको देखिन्छ ।
नयाँ पार्टीका रुपमा उदाएका रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी, सिके राउतको जनमत पार्टी र रञ्जिता श्रेष्ठको नागरिक उन्मुक्ति पार्टीप्रति जनताले परिवर्तनको आशा राखेर मतदान गरेका छन् । नेपाली काँग्रेस, एमाले, माओवादी र राप्रपामा पनि नयाँ युवाहरुको प्रवेश भएको छ । नयाँ युवाहरु निर्वाचित हुनुभएको छ नयाँ युवाहरुप्रति जनताको आशा र भरोसा छ । यद्यपि दलमा पुरानै नेताहरुको वर्चस्व र सत्तामा पुरानै वद्ध नेताहरुको उपस्थिति रहने हुँदा युवा सांसदहरुले अपेक्षित रुपमा जनताप्रतिको भरोसा निर्वाह गर्न चुनौती नै देखिन्छ । नेपाली काँग्रेसमा युवा नेता गगन थापा, विश्व प्रकाश शर्मा, प्रदिप पौडेल, रामहरि खतिवडा, अनि एमालेमा योगेश भट्टराई, गोकर्ण विष्ट, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही लगायत युवा माननीयहरु लगायत यो निर्वाचनबाट उदाएका केही नयाँ पार्टीले जनताको निराशालाई आशामा बदल्न सकून नयाँ सासंदको सफलता अझै बढोस्, युवा सांसदहरुले आफ्नै पार्टीभित्र नेतृत्व लिने र प्रधानमन्त्री बन्ने वातावरण बनोस्, युवा सांसदहरुको जोश, जाँगर र उर्जा सदन र देशका लागि काममा आओस् । सबै पार्टीका युवा नेता, नयाँ पार्टी र स्वतन्त्र रुपमा निर्वाचित युवा नयाँ सांसदप्रति जनमतले जगाएको भरोसा नटुटोस् । सबै युवा सांसदहरुमा परिवर्तनप्रतिको आवेग बर्कारर रहोस् सबै युवा माननीयहरुलाई मजस्ता लाखौं युवाहरुको एकमुष्ठ शुभकामना । जय देश ।
यस लेखमा उल्लेखित विचार लेखकका निजी विचार हुन् ।

