चीनले विश्वको सबैभन्दा शक्तिशाली ठोस इन्धन रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
बिहीबार चीनको निजी एयरोस्पेस कम्पनी ओरिएन्स स्पेसले ग्र्याभिटी-वान ‘वाईएल–१’ रकेट प्रक्षेपण गरेको सीजीटीएनले जनाएको छ । पूर्वी चीनको शानदोङ प्रान्तको हाइयाङ शहरको तटबाट पहिलोपटक उक्त रकेट प्रक्षेपण हुँदा त्यसले तीनवटा भूउपग्रह अन्तरिक्षमा तैनाथ गर्न सफल भयो ।
उक्त रकेटले तीनवटा युन्याओ- १ मौसम विज्ञान उपग्रहलाई सफलतापूर्वक पृथ्वीको कक्षमा तैनाथ गरिदिएको हो । चिनियाँ समयअनुसार बिहीबार साढे १ बजे रकेट प्रक्षेपण गरिएको थियो । रकेट ग्र्याभिटी-१ को उचाइ करिब ३० मिटर भएको बताइएको छ । यसको तौल करिब ४०० टनदेखि ६०० टन हो । यो रकेट निजीक्षेत्रको सबैभन्दा शक्तिशाली रकेट पनि हो ।
यसले लगभग ६ हजार ५ सय किलोग्राम पेलोड बोकेर अन्तरिक्षमा लैजान सक्छ । यस रकेटले १०० किलोग्रामभन्दा बढी तौलका धेरै उपग्रहहरू र करिब ३ देखि ४ टन तौलको सानो कार्गो अन्तरिक्ष यान प्रक्षेपण गर्न सक्छ ।
