काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले देशभर सञ्चारको पहुँच विस्तार गर्दै आर्थिक समृद्धिमा नेपाल टेलिकमले खेलेको भूमिकालाई उल्लेखनीय भएको बताएका छन्। नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भूकम्प, प्राकृतिक विपद् र महामारीजस्ता राष्ट्रिय संकटका समयमा टेलिकमले निर्वाह गरेको जिम्मेवारी उदाहरणीय रहेको उल्लेख गरे।
उनका अनुसार सञ्चार सेवा आज सम्पर्कको साधनमा मात्र सीमित नरही शिक्षा, अर्थतन्त्र र सामाजिक विकासको आधारस्तम्भ बनेको छ। सेवा विस्तारसँगै डिजिटल सेवा प्रवर्द्धन, डिजिटल साक्षरता अभिवृद्धि र समग्र देश विकासमा नेपाल टेलिकमको योगदान महत्वपूर्ण रहेको उनले बताए।
गृहमन्त्री अर्यालले आगामी दिनमा नेपाल टेलिकमले अत्याधुनिक प्रविधिमा आधारित सेवा विस्तार गर्दै ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखेर अघि बढ्ने विश्वास व्यक्त गरे। सार्वजनिक संस्थाहरू नागरिक र सरकार जोड्ने सेतु भएको उल्लेख गर्दै उनले नागरिक–सरकार सम्बन्धलाई सुदृढ बनाउन टेलिकमको भूमिका अझ प्रभावकारी हुने धारणा राखे।
सरकारका नीति तथा कार्यक्रमलाई आत्मसात् गर्दै नागरिकप्रतिको दायित्व पूरा गर्न नेपाल टेलिकमले सरकारसँगको सहकार्यलाई निरन्तरता दिने विश्वास आफूले लिएको पनि उनले बताए।

