काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी क्रमशः बढ्न थालेको छ। युवाका लागि रोजगारी, शिक्षा र स्वास्थ्य सेवा सहज हुनुपर्ने मतदाताको चाहना उम्मेदवारका घोषणापत्र र कार्यसूचीमा देखिन थालेपछि चुनावी माहोल तात्दै गएको हो।
“हामीले जिताउने जनप्रतिनिधिले युवाका अवसर, शिक्षा र स्वास्थ्यमा ठोस काम गर्नसक्नुपर्छ,” मतदाता स्नेहा दाहाल भन्छिन्। उनका यी अपेक्षा यस क्षेत्रका अधिकांश मतदाताको धारणा प्रतिनिधित्व गर्ने खालका छन्।
काठमाडौँ महानगरपालिकाका चार वडा र बूढानीलकण्ठ नगरपालिकाका १२ वडा समेटिएको काठमाडौँ–४ सधैँ राजनीतिक चर्चाको केन्द्रमा रहँदै आएको क्षेत्र हो। यहाँ परम्परागत ठूला दल, नयाँ दल र स्वतन्त्र उम्मेदवारबीच बहुआयामिक प्रतिस्पर्धा देखिएको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि यस क्षेत्रबाट १८ राजनीतिक दल र १० स्वतन्त्र गरी २८ उम्मेदवार मैदानमा उत्रिएका छन्। पछिल्ला दुई निर्वाचनमा विजयी भएका कांग्रेस नेता गगनकुमार थापा यसपटक सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवार बनेकाले पनि यो क्षेत्र थप चासोको केन्द्र बनेको छ।
यसपटक एमालेले अघिल्लो निर्वाचनकै उम्मेदवार डा राजन भट्टराईलाई दोहोर्याएको छ भने कांग्रेसले नयाँ अनुहार सचिन तिमल्सेनालाई अघि सारेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पुकार बमलाई उम्मेदवार बनाएको छ। यस्तै, अन्य दल र स्वतन्त्र उम्मेदवारले पनि प्रतिस्पर्धालाई फराकिलो बनाएका छन्। कुल उम्मेदवारमध्ये दुई जना मात्र महिला छन्।
क्षेत्रमा ७६ हजार १४१ मतदाता रहेका छन्। मिश्रित जातीय संरचना र मध्यम, बौद्धिक, कर्मचारी, व्यवसायी तथा मजदुर वर्गको बसोबास रहेको यो क्षेत्रमा सहरी विकास, सुकुम्बासी समस्या, ढल–खानेपानी, पार्किङ, नदी तथा सम्पदा संरक्षण प्रमुख चुनावी मुद्दा बनेका छन्। कपन बाढी नियन्त्रण, कालोपुल–गौरीघाट टनेल र गुह्येश्वरी–तिलगङ्गा सडक खुलाउने विषय पनि उम्मेदवारका प्राथमिकतामा छन्।
निर्वाचन अधिकृत कृष्णा भण्डारीका अनुसार यस क्षेत्रमा ३३ मतदानस्थल र ८८ मतदान केन्द्र छन्। औपचारिक प्रचार अवधि सुरु हुन बाँकी रहेकाले हाल सरगर्मी तीव्र नभए पनि दलहरूले आ–आफ्नो संगठनात्मक तयारी अघि बढाएका छन्।
इतिहास हेर्दा २०४८ देखि २०७९ सम्म यस क्षेत्रबाट एमाले र कांग्रेसका उम्मेदवार निर्वाचित हुँदै आएका छन्। पछिल्लो निर्वाचनमा कांग्रेसका गगन थापाले एमालेका डा भट्टराईलाई पराजित गरेका थिए। समानुपातिक मत परिणामले पनि कांग्रेस, एमाले, रास्वपा र राप्रपाबीच कडा प्रतिस्पर्धा देखाएको छ।
यसपटक ठूला दलका नयाँ र पुराना अनुहार, नयाँ दलको उदय र स्वतन्त्र उम्मेदवारको उपस्थितिले चुनावी समीकरण फरक हुनसक्ने आँकलन गरिएको छ। स्थानीय मुद्दा, उम्मेदवारको व्यक्तिगत छवि र मतदातासँगको प्रत्यक्ष सम्पर्क नै निर्णायक हुने छ।

