काठमाडौं । सुदूरपश्चिम प्रदेशको बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। बिहीबार राति भएको दुर्घटनामा आठ जनाको घटनास्थलमै ज्यान गएको थियो भने थप पाँच जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एसएसपी पदमबहादुर विष्टका अनुसार दुर्घटनामा ३६ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस बिहीबार राति करिब ८ बजे पुर्चौडी–७ बडगाउँको मोडमा दुर्घटनामा परेको थियो।
बस सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

