काठमाण्डौ । नुवाकोटको बेलकोटगढी नगरपालिका–९ सिउरेनीमा एक व्यक्तिको हत्या गरी शव खाडलमा लुकाइएको अवस्थामा फेला परेको छ। घटनामा संलग्न रहेको आरोपमा स्थानीय दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार ४४ वर्षीय शन्तबहादुर तामाङको शव खाडलबाट बरामद गरिएको हो। प्रारम्भिक अनुसन्धानमा बुधबार राति मृतक र पक्राउ परेका व्यक्तिहरू सँगै बसेर मादक पदार्थ सेवन गरिरहेको र सोही क्रममा विवाद चर्किँदा तामाङको हत्या भएको खुलेको छ।
प्रहरीका अनुसार मृतकले लगाएको कपडा घरनजिकैको खोलामा रगतले लतपतिएको अवस्थामा भेटिएको थियो। घटनापछि गरिएको खोजतलासका क्रममा शव लुकाइएको स्थान पहिचान गरिएको हो।
शव परीक्षणका लागि तामाङको शव त्रिशूली अस्पताल पठाइएको छ।
पक्राउ परेका दुवै जनालाई प्रहरीचौकी बाघखोरबाट जिल्ला प्रहरी कार्यालय ल्याई शुक्रबार नुवाकोट जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइने डीएसपी लामाले जानकारी दिए।

