सिमकोट — नेपालगञ्ज–सिमकोट उडानका हवाई टिकटमा देखिएको अनियमितता र ‘मिलोमतो वितरण’ का आरोपपछि हुम्लाका तीन निजी एयरलाइन्सका कार्यालयमा लगाइएको ताला प्रशासनको पहलमा खोलिएको छ।
सिमकोट गाउँपालिका–५ का युवाहरूले टिकट वितरण पारदर्शी नभएको, पछिल्ला दिनमा चिट्ठाबाट टिकट बाँड्दा झनै समस्या बढेको भन्दै शनिबार बिहान कार्यालयहरूमा ताला मारेका थिए।
मुख्य जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले सहमति गरेपछि दिउँसो नै ताला खोलिएको हो।
प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार बैठकले टिकट वितरणलाई व्यवस्थित बनाउन नयाँ प्रणाली लागू गर्ने निर्णय गरेको छ।
बैठकका मुख्य निर्णयहरू :
प्रत्येक उडानमा दुई सिट अनिवार्य बिरामीका लागि छुट्याइने।
तीन सिट सरकारी कर्मचारीका लागि जिल्ला प्रशासन कार्यालयले सिफारिस गर्ने।
तीन टिकट एयरलाइन्सले अनलाइन माध्यममार्फत अग्रिम सूचना दिएर वितरण गर्ने।
सिमकोट–५ र ६ का स्थानीयलाई वडा सिफारिसमा एक–एक टिकट दिने व्यवस्था।
बाँकी टिकट एयरलाइन्सले प्राथमिकता र सहजताका आधारमा वितरण गर्नेसँगै सिमकोट–५ र ६ का स्थानीयवासीले पहिल्यै आरक्षण सिट पाउने व्यवस्था पहिलोपटक लागू गरिएको छ।
१५ सिट क्षमताका जहाजमा पहिले भनसुन र मिलेमतोमा टिकट बाँडिँदै आएको आरोपसमेत युवाहरूले लगाएका थिए। नयाँ निर्णय सीता, समिट, तारा र नेपाल एयरलाइन्सका सबै उडानमा लागू हुने जनाइएको छ।
ताला लगाइएको खबर पाएपछि प्रशासनले युवा, सुरक्षा निकाय, राजनीतिक दल तथा एयरलाइन्स प्रतिनिधि सहभागी बैठक बोलाएको थियो। निर्णय लगत्तै तत्काल कार्यालय खुलेका छन्।

