काठमाडौँ, कार्तिक ३० ।
नेपाली कम्युनिस्ट पार्टीले पार्टी एकता प्रक्रियालाई देशव्यापी रूपमा सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले प्रदेश, जिल्ला र स्थानीय तहमा ‘पार्टी एकता सन्देश सभा’ आयोजना गर्ने निर्णय गरेको छ। पार्टी संयोजक तथा सह–संयोजकको संयुक्त उपस्थितिमा सम्पन्न बैठकले मंसिर महिनाभर विभिन्न तहमा सभा आयोजना गर्ने विस्तृत तालिका सार्वजनिक गरेको हो। आवश्यकता अनुसार केही मितिमा हेरफेर हुने सम्भावना पनि पार्टी हेडक्वाटरले जनाएको छ।
प्रदेश स्तरीय सन्देश सभा
बैठकले सबै सातै प्रदेशमा मंसिर ९ देखि १४ गतेभित्र एकता सन्देश सभा गर्ने निर्णय गरेको छ। सुदूरपश्चिममा मंसिर ९ गते धनगढीबाट सुरु हुने कार्यक्रम क्रमशः कर्णाली (मंसिर १०, सुर्खेत), लुम्बिनी (मंसिर ११), गण्डकी (मंसिर १२, पोखरा), मधेश (मंसिर १३, जनकपुर) र कोशी (मंसिर १४, विराटनगर)मा सञ्चालन हुनेछ। बागमती प्रदेशको भने पछि मिति हेडक्वाटरले तय गर्नेछ।
जिल्ला स्तरीय सभा
प्रदेशगत रूपमा सबै जिल्लामा छुट्टाछुट्टै दिन सन्देश सभा हुने भएको छ। बागमतीका सबै जिल्लामा मंसिर १३ गते, सुदूरपश्चिममा मंसिर १५, कर्णालीमा १६, लुम्बिनीमा १७, गण्डकीमा १८, मधेशमा १९ र कोशीका सबै जिल्लामा मंसिर २० गते एकैसाथ कार्यक्रम हुनेछन्।
पालिका स्तरीय सभा
देशभरका सबै पालिकामा भने मंसिर २७ गते एकैदिन भव्यरूपमा ‘पालिका स्तरीय एकता सन्देश सभा’ आयोजना हुने जनाएको छ।
पार्टीका अनुसार यो अभियानले स्थानियदेखि केन्द्रीय तहसम्म संगठनिक एकतालाई सुदृढ गर्ने र नयाँ एकीकृत संरचना निर्माणमा महत्वपूर्ण योगदान गर्नेछ। केन्द्रीय कार्यालय, पेरिसडाँडाले जारी गरेको विज्ञप्तिअनुसार कार्यक्रम तयारी तीव्र गतिमा अगाडि बढाइएको छ।

