नेपाली: कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वत्र असफल व्यक्तिहरु नेपाली राजनीतिमा बारम्बार सत्ता सम्हाल्न पुग्ने गरेको बताएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवातर्फ लक्षित गर्दै उनले पार्टी महाधिवेशन समेत समयमै गराउन नसक्ने असफल नेतृत्त्व सत्ता सम्हाल्न पुगेको टिप्पणी गरेका छन् ।
उनले समाजिक सञ्जालमा लेखेका छन्, “सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छन् ।”
पौडेलले पार्टी महाधिवेशन गराउन नसक्नु वर्तमान नेतृत्वको चरम असफलता भएको बताएका छन् ।
उनले महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको पनि टिप्पणी गरेका छन् ।“पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिती भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो,” सामाजिक सञ्जालमा उनी लेख्छन्, “आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ । यहाँभन्दा वर्तमान नेतृत्त्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ?”

