काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै स्थानमा हुस्सु लागेको छ भने पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।
मंगलबार दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।
राति पनि तराईका अधिकांश स्थानमा हुस्सु रहनेछ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने अनुमान छ।
तराई क्षेत्रमा हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य तथा सडक र हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

