काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणु यादव पक्षबीच पार्टी एकताको सहमति भएको छ। उनीहरूबीच आज औपचारिक रूपमा एकताको सहमतिपत्रमा हस्ताक्षर भएको हो।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी सहअध्यक्ष रेणु यादव केही नेतासहित उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा फर्किन लागेकी हुन् ।
यसअघि आइतबार तराई–मधेस लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी नेपालबीच पनि एकताको सहमति भइसकेको छ। विगतमा एउटै दलमा रहेर राजनीतिक यात्रा तय गरेका उपेन्द्र र रेणु यादवबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पुनः एकता भएको हो।
एकताको उद्देश्य मधेस आन्दोलनबाट प्राप्त उपलब्धि—संघीयता र गणतन्त्र—को संरक्षण तथा संवर्द्धन गर्दै मधेस र मधेसी जनताको अधिकार सुनिश्चित गर्नु रहेको जनाइएको छ।
जनता समाजवादी पार्टीका बहुमत केन्द्रीय सदस्य उपेन्द्र यादव नेतृत्वको पुरानै पार्टीमा एकीकृत हुने निर्णय भएको रेणु यादव पक्षका नेता प्रदीप यादवले जानकारी दिए। बदलिँदो राजनीतिक परिवेशमा जनता समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीबीचको एकता अपरिहार्य रहेकाले मधेसी जनताको चाहना र जनअपेक्षालाई शिरोधार्य गर्दै एकताको घोषणा गरिएको उनले बताए।

