काठमाडौं । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच औपचारिक रूपमा एकता भएको छ। सोमबार राजधानीमा आयोजित विशेष कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरूले १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै एकताको घोषणा गरेका हुन्।सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल तथा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन्।
एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ नै रहने र चुनाव चिह्न ‘तारा’ राख्ने सहमति भएको छ। यससँगै दुवै पार्टीका तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिहरू स्वतः नेपाली कम्युनिष्ट पार्टीको सदस्य हुनेछन्।
सहमति अनुसार नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिसहितका सम्पूर्ण साविक संरचना तथा जनवर्गीय संगठनहरू आपसी सहमतिका आधारमा नयाँ पार्टीमा समायोजन गरिनेछ। पार्टी एकताले वामपन्थी शक्तिहरूको एकता सुदृढ गर्दै देशको लोकतान्त्रिक र सामाजिक रूपान्तरणमा सकारात्मक भूमिका खेल्ने नेताहरूले विश्वास व्यक्त गरेका छन्।
एकता घोषणासँगै आगामी राजनीतिक कार्यदिशा, संगठन सुदृढीकरण र जनमुखी एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता पनि जनाइएको छ।


