काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय नेतृ डा. डिला संग्रौलाले मुलुक ठूलो सामाजिक, राजनीतिक र आर्थिक परिवर्तनको संघारमा उभिएको भन्दै कांग्रेसले आफूलाई समयअनुकूल रूपान्तरण गर्न नसके देशलाई निकास दिन कठिन हुने बताएकी छन् ।
केही दिनअघि शीतलहरको कठिनाइबीच मधेश प्रदेशका आठवटै जिल्लाको भ्रमण गरी पार्टी कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणसँग अन्तरक्रिया गरेको अनुभव सुनाउँदै डा. संग्रौलाले २१ फागुनमा निर्वाचन हुँदै छ भन्ने जानकारी धेरैलाई भए पनि चुनावी चहलपहल अझै सुरु नभएको बताइन् । उनका अनुसार दलहरू आन्तरिक तयारी र सत्ता–समीकरणमै अल्झिएका छन् भने जनतामा परिवर्तनप्रतिको तीव्र चाहना देखिन्छ ।
“मुलुक परिवर्तनको हुटहुटीमा छ, तर कांग्रेसले त्यो भावनालाई आत्मसात् गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न धेरैले उठाएका छन्,” उनले भनिन्, “सबैभन्दा पहिला कांग्रेस आफैं परिवर्तन हुन जरुरी छ ।”
आत्मपरिवर्तनको सन्दर्भमा उनले एक साधु र बालकको दृष्टान्त सुनाउँदै भनिन्– आफैंले अभ्यास नगरी अरूलाई उपदेश दिन सकिँदैन । “जब पार्टी नेतृत्व आफैं परिवर्तनको बाटोमा हिँड्छ, त्यसको सकारात्मक असर समाज र जनतामा पर्छ,” उनको भनाइ थियो ।
२३–२४ भदौको जेन–जी आन्दोलनपछि कांग्रेसले केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमार्फत गम्भीर आत्मसमीक्षा गरेको स्मरण गर्दै डा. संग्रौलाले पुस २६, २७ र २८ गते नियमित महाधिवेशन गर्ने मिति तय भइसकेको जानकारी दिइन् । उनले महाधिवेशन तयारीलाई युद्धस्तरमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याइन् ।
डा. संग्रौलाका अनुसार कांग्रेसको महाधिवेशन पार्टीको आन्तरिक विषय मात्र नभई राष्ट्रिय महत्वको विषय हो । “राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आदर्श मानेको कांग्रेस एउटा पार्टी मात्रै होइन, एउटा ऐतिहासिक आन्दोलन हो,” उनले भनिन् ।
उनले २००७ सालको प्रजातान्त्रिक क्रान्ति, २०४६ को आन्दोलन, २०६२/६३ को जनआन्दोलन र २०७२ को संविधान निर्माणमा कांग्रेसले खेलेको अग्रणी भूमिका स्मरण गराउँदै वर्तमान अवस्थामा पनि पार्टीले निर्णायक नेतृत्व लिनुपर्नेमा जोड दिइन् ।
“जेन–जी आन्दोलनपछि सिर्जित परिस्थितिलाई सामान्यीकरण गर्दै देशलाई शान्ति, स्थायित्व, विकास र समृद्धितर्फ लैजान कांग्रेसमाथि ठूलो जिम्मेवारी छ,” डा. संग्रौलाले भनिन्, “लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै संविधानको अक्षरशः पालना गर्नु आजको प्रमुख दायित्व हो

