काठमाडौँ: कोरोना संक्रमण बढ्दै गएकाले कक्षा १२ सहित सबै परीक्षा तत्काल रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।
स्वास्थ्य मन्त्रालयले विज्ञहरूसँगको छलफलपछि परीक्षा सञ्चालन गर्न उपयुक्त नहुने सिफारिस गरेको हो ।
मृत्युदर १.५ प्रतिशत पुगेको र संक्रमण दर पनि बढ्दै गएकाले परीक्षा सञ्चालन गर्न नहुने अडान स्वास्थ्य मन्त्रालयले लिएको हो ।
विभिन्न विश्वविद्यालय, कक्षा ११, सीटीईभीटीलगायतका परीक्षा भइरहेकाले मन्त्रालयले सबै खाले परीक्षा रोक्न भनेको छ ।
प्रधानमन्त्री देउवाले समेत अवस्था सामान्य भएपछि र २० वर्षमुनिका किशोर–किशोरीले खोप पाएपछि मात्र परीक्षा सञ्चालन गर्नु उपयुक्त हुने धारणा राखेको मन्त्रालय स्रोतले बतायो ।
सीसीएमसीको अनुमतिमा कक्षा १२ को जेठमा स्थगित परीक्षा साउन ३१ देखि सञ्चालन गर्ने तय भएको थियो । करिब ४ लाख विद्यार्थी कक्षा १२ को परीक्षा तयारीमा छन् ।
स्वास्थ्य मन्त्रालयले सीसीएमसी र शिक्षा मन्त्रालयलाई गरेको सिफारिसपछि टुंगोमा पुग्नका लागि निर्णय गर्न शनिबार ११ बजे बोर्डको बैठक डाकिएको समाचार छ ।

