काठमाडौँ । मंगलबारबाट फेरि मौसम बदली हुने भएको छ। यो बदली बुधबार देशभर फैलिने र काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा हल्का वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागले आज राति सार्वजनिक गरेको विवरणअनुसार माघ १३ र १४ गते सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ।
यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। बाँकी भू–भागका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ।
साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।
यसको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई र सडक यातायातमा समेत असर पर्न सक्ने देखिएकाले विभागले नियमित रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनामा ध्यान दिन आग्रह गरेको छ।

