बरहथवा (सर्लाही)। नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेसमा चटक देखाउन नभई मधेस पढ्न र बुझ्न आएको बताएका छन्। सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का मतदातालाई सम्बोधन गर्दै उनले मधेसबारे सुनेको कुरा मात्र होइन, नजिकबाट अनुभूति गर्न र सिक्न यहाँ आएको स्पष्ट पारे।
सोमबार सिमरा विमानस्थलमा अवतरण गरेपछि विभिन्न स्थानमा मधेसका साथीहरूले देखाएको आत्मीय स्वागत र मायाले आफू उत्साहित भएको थापाले बताए।
नेपाली कांग्रेसको नेताको हैसियतले मधेसले कांग्रेस र लोकतन्त्रका लागि दिएको योगदानबारे आफू जानकार रहेको उल्लेख गर्दै उनले मधेसप्रति सम्मान र कृतज्ञता व्यक्त गरे।
“अब म यहाँको भाषा, रहनसहन, वेशभूषा, संस्कार र संस्कृति सबै पढ्छु र सिक्छु,” उनले भने, “केही साथीहरूले कम्तीमा एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गर्न सुझाव दिनुभएको थियो। तर म दुई दिनको चटक देखाउन मधेशमा आएको होइन। सबै कुरा सिकेपछि मात्रै बोल्छु।”
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि भएर संसद्मा रहँदा मधेसका सवालहरू पटक–पटक उठाएको स्मरण गर्दै थापाले यसपटक मधेस र मधेसका मुद्दा नजिकबाट बुझ्ने प्रतिबद्धता जनाए।
एक पटक भए पनि मधेसप्रति समर्पित नभई, मधेसलाई आफूमा र आफूलाई मधेसमा नल्याई सम्पूर्ण रूपमा नेपाली हुन नसकिने ठानेर आफू मधेस आएको उनले स्पष्ट पारे।

