काठमाडौँ । एन्फा राष्ट्रिय लिग अन्तर्गत चौथो खेलमा आएर मनाङ मस्र्याङ्दी क्लबले पहिलो जित हासिल गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा मनाङले सुर्खेतको काँक्रेविहार युवा क्लबलाई ५–१ ले पराजित गरेको हो।
मनाङका लागि विदेशी खेलाडी गिडेओन नाहले दुई गोल गरे भने सुरेश कुमाल, अनिल कुमार र नवराज गुरुङले एक–एक गोल थपे। काँक्रेविहारका लागि सन्दीप देउवाले एक सान्त्वना गोल गरे।
खेलको १६औँ मिनेटमा सुरेश कुमालको गोलबाट मनाङले अग्रता लिएको थियो। त्यसको पाँच मिनेटपछि काँक्रेविहारका सन्दीप देउवाले बराबरी गोल फर्काए। तर २५औँ मिनेटमा अनिल कुमारले गोल गरेपछि मनाङ पुनः अग्रता लिन सफल भयो।
दोस्रो हाफमा मनाङ थप आक्रामक देखियो। खेलको ५४औँ र ८५औँ मिनेटमा गिडेओनले दुई गोल गर्दै मनाङको जित सहज बनाए। यसअघि ८०औँ मिनेटमा नवराज गुरुङले पनि गोल गरेका थिए।
चार खेलमा पहिलो जित हात पारेको मनाङ १३औँ स्थानमा उक्लिएको छ। काँक्रेविहार भने लगातार चौथो हार बेहोर्दै अङ्कविहीन अवस्थामा १७औँ स्थानमा यथावत् छ।
यसैगरी सोमबार नै एन्फा कम्प्लेक्स मैदानमा भएको अर्को खेलमा नेपाल पुलिस क्लबले श्री भगवती क्लबलाई १–० ले पराजित गरेको छ। खेलको ३७औँ मिनेटमा श्री भगवतीका सेन्टरब्याक पेटर सेगुनबाट भएको आत्मघाती गोल पुलिसको जितमा निर्णायक बन्यो।
एन्फा राष्ट्रिय लिगमा पुलिस क्लबको यो पहिलो जित हो। पुलिसले चौथो खेलमा आएर जितको खाता खोलेको हो। यसअघि पुलिसले एक खेल बराबरी खेलेको थियो भने दुई खेलमा हार बेहोरेको थियो। श्री भगवती क्लबको भने यो दोस्रो हार हो।

