काठमाडौं: आन्तरिक राजस्व विभागको स्टिकरसहित ५ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तीन भारतीय र दुई नेपाली रहेको कैलालीका प्रहरी प्रवक्ता डीएसपी प्रतिक विष्टले जानकारी दिए।
कैलाली गौरीगंगा नगरपालिका ७ स्थित तालबन्द सडकखण्डमा लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा, भारतका १९ वर्षीय संजित कुमार र २० वर्षीय रिङ्कु कुमार रहेका छन्।
मोटरसाइकलमा सवार उनीहरुको साथबाट ३ वटा कार्टुन भित्र आन्तरिक राजस्व बिभाग लेखिएको ७७ रोल स्टिकर फेला परेको छ।
२ लाख ८८ हजार ६७४ वटा स्टिकर फेला परेकोमा १३ रोल स्टिकर एउटै सिरियल नंबरका थिए।
कैलाली गौरीगंगा नगरपालिका ७ मसुरियाका वेष्टर्न लिकर्स प्रालिबाट ल्याएको बताएका थिए।
त्यहाँ खोजतलासको क्रममा रौतहटको गरुडा नगरपालिका १ जयनगरका ४० वर्षीय राजकुमार शाह, पर्साको वीरगन्जका ५५ वर्षीय विजय गुप्ता र लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा, भारतका २२ वर्षीय सुरेश कुमारलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले वेष्टर्न लिकर्स प्रालिको स्टिकर भण्डारण गरिएको कोठा सिल गरेको र आन्तरिक राजस्व कार्यालय धनगढीले थप अनुसन्धान गरिरहेको छ।
बरामद स्टिकर र अन्य सामानसहित उनीहरुलाई कारबाहीका लागि मंगलबार आन्तरिक राजस्व कार्यालय धनगढी कैलालीमा पठाउने डीएसपी विष्टले बताए।
