काठमाण्डौ । चीनका वैज्ञानिकले विश्वमै पहिलोपटक हड्डी जोड्ने विशेष ‘बोन ग्लु’ (Bone Glue) तयार गरेका छन्, जसले २ देखि ३ मिनेटभित्रै भाँचिएको हड्डी जोड्न सक्ने बताइएको छ।
यो नयाँ पदार्थ सामुद्रिक सिपी (shellfish) बाट प्रेरित बायोडिग्रेडेबल ग्लु हो, जसले शरीरमा लगाइएपछि करिब ६ महिनामै पूर्ण रूपमा घुल्ने क्षमता राख्छ।
चीनको वेन्झोउ मेडिकल युनिभर्सिटीका डाक्टर लिन जियानफेङ नेतृत्वको टोलीले डेढ सयभन्दा बढी बिरामीमा परीक्षण गरी यो पदार्थ सुरक्षित र प्रभावकारी रहेको प्रमाणित गरेको छ।
समुद्रको सिपीबाट प्रेरणा
डाक्टर लिनका अनुसार समुद्रमा लहर र ज्वारभाटामा पनि सिपीहरू अडिग रहन सक्ने क्षमता हुन्छ, जुन नै यस आविष्कारको आधार बन्यो।
“रगतले भरिएको वातावरणमा हड्डीलाई पनि त्यस्तै मजबुत रूपमा टाँस्न सकिन्छ कि भन्ने सोचले हामीले यो ग्लु विकास गरेका हौँ,” उनले भने।
‘Bone-02’ नाम दिइएको पदार्थ
उक्त जैविक ग्लुलाई वैज्ञानिकहरूले ‘Bone-02’ नाम दिएका छन्।
यो ग्लुले २०० किलोग्रामभन्दा बढी तौल भएको वस्तु पनि टाँस्ने शक्ति राख्छ। सर्जरीको क्रममा यो पदार्थ प्रयोग गर्दा भाँचिएको हड्डी केही मिनेटमै स्थिर र मजबुत रूपमा जोडिने बताइएको छ।
चिनियाँ वैज्ञानिकहरूको यो खोजलाई आधुनिक चिकित्सा क्षेत्रमा क्रान्तिकारी उपलब्धिका रूपमा हेरिएको छ।

