काठमाडौँ । नेपाल वायुसेवा निगमको सञ्चालक समितिको कार्यकारी अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष विक्रम राईले पाएका छन्। निवर्तमान अध्यक्ष युवराज अधिकारीको कार्यकाल समाप्त भएपछि नयाँ अध्यक्ष नियुक्त नभएसम्मका लागि राईलाई नै जिम्मेवारी सुम्पिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरेले मंगलबार मन्त्रालयमा आयोजित समारोहमा राईलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।
शपथ ग्रहणपछि अध्यक्ष राईले निगमको कार्यालय पुगेर कार्यभार सम्हाल्दै प्रधानमन्त्री र जेनजी आन्दोलनको भावना अनुसार संस्थामा देखिने गरी सुधार ल्याउने प्रतिबद्धता जनाए।
राईले हाल ए३२० जहाजमा प्रयोग हुँदै आएको भाडामा लिइएको इञ्जिन सम्बन्धित कम्पनीलाई फिर्ता गरी इजरायल पठाइएको मर्मत इञ्जिन १५ दिनभित्र जडान सम्पन्न गर्न निर्देशन दिएका छन्।
त्यसैगरी, ‘विजनेस क्लास’का टिकटलाई अपग्रेड गर्ने प्रवृत्ति तत्काल बन्द गर्न, यात्रु ‘व्यागेज’ नीतिलाई समयानुकूल परिमार्जन गर्न र व्यागेज टुटफुटसम्बन्धी जनगुनासो तत्काल समाधान गर्न उनले निर्देशन दिए।
राईले प्रश्न उठेका करार तथा ज्यालादारी कर्मचारीको नियुक्ति नियमसङ्गत नभएको खण्डमा बदर गर्न पनि आदेश दिएका छन्। उनले निगमको व्यवस्थापकीय कार्यमा आफ्नो कुनै हस्तक्षेप नहुने स्पष्ट पार्दै पारदर्शिता र उत्तरदायित्वमा आधारित काम गर्ने प्रतिबद्धता दोहोर्याए।
कार्यभार सम्हाल्ने क्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीसहित विभागीय प्रमुखहरूले आफ्ना विभागमा भइरहेको कार्य प्रगतिबारे अध्यक्ष राईलाई जानकारी गराएका थिए।
साथै, निगमका ‘कर्पोरेट डाइरेक्टर’ अनिल घिमिरेलाई संस्थाको प्रवक्ताको जिम्मेवारी पनि दिइएको छ।

