काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)मा जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले निराशाजनक प्रदर्शन गर्दै आफ्नो पाँचौँ शृङ्खला पनि जीतविहीन समाप्त गरेको छ।
दुबईस्थित आइसिसी एकेडेमीमा बिहीबार सम्पन्न अन्तिम खेलमा नेपाल घरेलु टोली युएईसँग चार विकेटले पराजित भयो। यससँगै नेपालले लिग–२ अन्तर्गत लगातार चौथो खेलमा हार व्यहोरेको छ।
नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा नौ विकेट गुमाएर २३९ रनको योगफल बनाएको थियो। त्यसको जवाफमा युएईले पाँच बल बाँकी रहँदा लक्ष्य पूरा गर्यो।
युएईका लागि मोहम्मद शहदादले १२३ बलमा ६ चौका र ३ छक्कासहित ९६ रनको उत्कृष्ट पारी खेले। कप्तान मोहम्मद वासिमले पनि ७३ बलमा ७६ रनको योगदान दिए। त्यस्तै, सोहेब खानले २९, अलिसान शराफुलले १८ र हर्षित कौशिकले १३ रन जोडे।
नेपालका बलरमध्ये करण केसीले ३ विकेट लिए भने नन्दन यादव, ललितनारायण राजवंशी र सन्दीप लामिछानेले समान एक–एक विकेट झारे।
पहिले ब्याटिङ गरेको नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन जोडे। त्यस्तै, कुशल मल्लले ४५, दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४, आरिफ शेखले ३० र सन्दीप लामिछानेले अविजित १५ रन बनाए।
बलिङतर्फ युएईका जुनैद सिद्दिकी, मोहम्मद जवादुल्लाह र ध्रुव परासरले समान दुई–दुई विकेट लिए भने जाहिद अलीले एक विकेट हात पारे।
यो हारसँगै नेपालले २० खेलबाट जम्मा १२ अङ्क मात्र जोड्दै लिग–२ को अंकतालिकामा सातौँ स्थानमा सीमित भएको छ। यता युएईले समान खेलबाट १० अङ्कका साथ अन्तिम स्थानमा उक्लिएको छ।

