काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि लगानीकर्ताको मनोबल कमजोर भएको बताएका छन्।
नागरिक पहलले बुधबार आयोजना गरेको ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ कार्यक्रममा बोल्दै गभर्नर पौडेलले पछिल्लो समय लगानी विस्तारमा देखिएको मन्दी र जेनजी आन्दोलनले अर्थतन्त्रमा थप दबाब पारेको बताए।
उनका अनुसार, “विगत दुई वर्षदेखि नै पैसा भए पनि लगानी बढ्न सकेको थिएन। यस्तो अवस्थामा भएको जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल झनै कमजोर बनाएको छ।”
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनमा घुसपैठ भएकाले निजी तथा सरकारी संरचनामाथि आक्रमण भएको टिप्पणी गरे। उनका अनुसार, “जेनजी आन्दोलनको प्रारम्भिक उद्देश्य सकारात्मक थियो, तर बाह्य घुसपैठले त्यसलाई हिंसात्मक रूप दियो।”
त्यसैगरी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक दलहरूले व्यक्तिमुखीभन्दा प्रणालीमुखी सुधारमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “जेनजी आन्दोलनले देखाएको असन्तुष्टि दलहरूले गम्भीरतापूर्वक लिनुपर्छ। अब व्यक्तिको होइन, प्रणालीको सुधार आवश्यक छ।”
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आन्दोलन कांग्रेसप्रति पनि लक्षित रहेको बताए। उनले भने, “जेनजी आन्दोलन भएको बेला सरकारमा कांग्रेस थियो, त्यसैले त्यसको जिम्मेवारी हामीले लिनुपर्छ। सधैं क्रान्तिको नेतृत्व गर्ने पार्टी भएकाले जनताको असन्तुष्टिलाई पार्टी बचाउने दृष्टिले पनि आत्मसमीक्षा गर्नुपर्छ।”
राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाहीले हालको राजनीतिक अवस्था जटिल र अविश्वासपूर्ण बनेको टिप्पणी गरिन्।
रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले आन्दोलन लामो समयदेखि दबिइरहेको असन्तुष्टिको परिणाम भएको बताए भने जसपाका प्रवक्ता मनिषकुमार सुमनले आन्दोलनमा भाग नलिएका समूहले अहिले त्यसको जस लिन खोजेको आरोप लगाए।
त्यसैगरी महान्यायाधिवक्ता सविता भण्डारीले विद्रोहपछिको अवस्थालाई सरकारले अवसर र चुनौती दुबैका रूपमा लिनुपर्ने बताइन्। उनका अनुसार, “सुशासनका मागहरू जायज छन्। अभियोजन र सजायका विषय आफ्नै प्रक्रियामा छन्, तर दोष ठहर गर्न प्रमाण आवश्यक पर्छ।”
भण्डारीले प्रहरी र प्रशासन अनुसन्धानमा सक्रिय रहेको जनाउँदै, “मिडियामा देखिँदैन भनेर कानुनी प्रक्रिया अघि नबढेको होइन,” भन्ने स्पष्ट पारिन्।

