काठमाडौँ । आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दसौँ राष्ट्रिय खेलकुद आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष तथा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३औँ बोर्ड बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वधावक जीतबहादुर केसीलाई रु २५ लाख नगद पुरस्कार दिने सिफारिस मन्त्रिपरिषद्लाई गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगरेका राष्ट्रिय खेल सङ्घहरूलाई तीन महिनाभित्र प्रतियोगिता सम्पन्न गर्न निर्देशन दिने निर्णय गरिएको छ।
राखेपले खेल सङ्घहरूले घोषणा गरेका खेलाडीका सुविधा र पुरस्कार रकम १५ दिनभित्र सम्बन्धित खेलाडीलाई उपलब्ध गराउनुपर्ने पनि निर्देश गरेको छ। साथै, वैदेशिक भ्रमणसम्बन्धी सम्पूर्ण प्रतिवेदन राखेपमा पेस गर्नुपर्ने निर्णय पनि बैठकले गरेको हो।
बैठकमा राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ, उपाध्यक्ष ध्रुव आचार्य, खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल र अन्य बोर्ड सदस्यहरू सहभागी थिए।

