काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज राजधानीमा जनप्रदर्शन गर्ने भएको छ।
पार्टीका अनुसार बिहीबार दिउँसो १ बजे भृकुटीमण्डपमा जनसभा आयोजना हुनेछ। त्यसका लागि प्रदर्शन मध्याह्न १२ बजे सुन्धाराबाट सुरू भई भृकुटीमण्डपसम्म अघि बढ्ने कार्यक्रम तय गरिएको छ।
जनप्रदर्शनपछि त्यही स्थानमा आमसभा आयोजना गरिने बताइएको छ।
यसबीच, विप्लव नेतृत्वको नेकपाभित्र विभाजन देखिएको छ। चिरन पुन समूहले विद्रोह गर्दै बुधबार माओवादी केन्द्रसहित १० वाम घटकसँग एकीकरण गरी ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरेको घोषणा गरेको छ।
जेनजी आन्दोलनपछि वाम एकताको पहल गरिरहेका विप्लव भने उक्त एकतामा सहभागी भएनन्। उनले निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराइसकेका छन्। आयोगमा दर्ता हुँदा पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ उल्लेख गरिएको छ।

