लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले जेनजी आन्दोलन का माग सम्बोधनका लागि संविधान संशोधन आवश्यक भएको बताएका छन्।
प्रेस चौतारी नेपाल, रूपन्देहीद्वारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले संविधान संशोधनमार्फत अन्तरिम सरकार गठन गरी निर्वाचनमा जानुपर्ने धारणा राखे।
उनका अनुसार, “संविधानको रक्षा गर्दै देशलाई संवैधानिक मार्गबाट अघि बढाउन प्रतिनिधिसभा पुनःस्थापना अनिवार्य छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सुदृढीकरणमा एमाले प्रतिबद्ध छ।”
पौडेलले संविधानलाई “गतिशील दस्तावेज” भन्दै त्यसमा रहेका कमजोरी संशोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बनाउने आवश्यकता औंल्याए।
उनले आगामी मङ्सिर २७ देखि २९ गतेसम्म हुने एमालेको महाधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी भइरहेको पनि जानकारी दिए।

