काठमाडौँ । विभिन्न वामपन्थी दल र समूहहरूको एकतापछि गठन गरिएको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा औपचारिक रूपमा दल दर्ताको निवेदन दिएको छ। बुधबार एकता घोषणा गरेको उक्त पार्टीले भोलिपल्ट बिहीबार आयोगमा दर्ता निवेदन पेश गरेको हो।
नवगठित पार्टीमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १० वटा वाम दल र समूहहरू सम्मिलित छन्। पार्टीले आगामी निर्वाचनका लागि पाँचकुने तारालाई आफ्नो चुनाव चिन्हका रूपमा प्रस्ताव गरेको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आयोगले नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन आधिकारिक रूपमा प्राप्त गरिसकेको छ। उनका अनुसार, दर्ता प्रक्रियाका कानुनी मापदण्डहरूका आधारमा आयोगले आवश्यक कारबाही अघि बढाउनेछ।
कानुन अनुसार आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ।
पार्टीका नेता शिव खकुरेलका अनुसार, दर्ता निवेदनसँगै एकताको प्रतिबद्धतापत्र, घोषणापत्र, र अन्य आवश्यक कागजातहरू समेत आयोगमा पेश गरिएको छ। उनले भने, “पार्टीको विधानलाई पूर्णता दिने काम भइरहेको छ। पदाधिकारी र संरचना टुंगिएपछि आयोगमा विधानलगायतका सम्पूर्ण दस्तावेज पेस गरिनेछ।”
खकुरेलले थपे, “यो एकता ऐतिहासिक कदम हो। नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै देशमा समाजवादी रुपान्तरणका लागि ठोस कदम चालिएको छ।”
यससँगै नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनमा सशक्त उपस्थिति जनाउने तयारी गरेको जनाएको छ।

