काठमाडौँ – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रभावका कारण कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।
महाशाखाले जनाएको अनुसार मधेस प्रदेश र कोशी प्रदेशको तराईका थोरै स्थानमा तुवाँलो लागेको छ भने बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा तराईका केही स्थानमा पुनः हुस्सु लाग्नेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
Previous Articleहालसम्मकै ठूलो प्रतियोगिता आईसीसी महिला टी–२० विश्वकप आजदेखि: पहिलो खेलमा थाइल्याण्ड-नेपालको भिडन्त
Next Article आज काठमाडौंको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस

