काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहान ५:४५ बजे गरिएको सुरुवाती मापनमा काठमाडौंको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस रहेको जनाएको छ।
महाशाखाका अनुसार यो प्रारम्भिक मापन मात्र भएकाले आजको आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजे पुनः मापन गरिनेछ। हालको अवस्थालाई हेर्दा काठमाडौंको न्यूनतम तापक्रम अहिलेको भन्दा केही घट्न सक्ने अनुमान गरिएको छ।
हिजो शनिबार काठमाडौंको न्यूनतम तापक्रम सुरुवाती मापनमा ४.९ डिग्री सेल्सियस रहेकोमा बिहान ८:४५ बजे घटेर ४.३ डिग्री सेल्सियस कायम भएको थियो।
माघ लागेयता काठमाडौंमा न्यूनतम तापक्रम क्रमशः बढ्दो क्रममा देखिएको छ। गत पुस ३० गते २.३ डिग्री सेल्सियसमा झरेको न्यूनतम तापक्रम माघ १ गते ३.६ डिग्री सेल्सियस पुगेको थियो। त्यसपछि माघ २ गते ४ डिग्री सेल्सियस र माघ ३ गते ४.३ डिग्री सेल्सियससम्म उक्लिएको थियो।
मौसम पूर्वानुमान महाशाखाले काठमाडौंसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम दैनिक रूपमा मापन गर्ने गर्दछ। महाशाखाका अनुसार न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

