काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुने भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै अभियानको सुरुवात गर्ने तालिका छ ।
नेपाल र थाइल्याण्डबीचको खेल आइतबार बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ। यो प्रतियोगिता महिला क्रिकेटतर्फ नेपालले आयोजना गर्न लागेको हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो।
प्रतियोगिताको पूर्वसन्ध्यामा शनिबार साँझ नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीले यसपटक सुधारिएको प्रदर्शन गर्ने अपेक्षा व्यक्त गरेको छ। टोलीकी कप्तान इन्दु वर्माले अघिल्ला प्रतियोगिताबाट पाठ सिक्दै ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा सुधार आएको दाबी गरिन्। घरेलु मैदानको फाइदा उठाउँदै कम्तीमा सुपर सिक्स चरणसम्म पुग्ने लक्ष्यसहित टोली मैदानमा उत्रिने उनले बताइन्।
यो प्रतियोगितामा नेपालसहित स्कटल्याण्ड, अमेरिका, जिम्बाबे, नामिबिया, थाइल्याण्ड, बङ्गलादेश, आयरल्याण्ड, पपुवा न्युगिनी र नेदरल्याण्ड गरी १० देश सहभागी छन्। प्रतियोगिता अघि नेपालले नेदरल्याण्ड, थाइल्याण्ड र अमेरिकासँग अभ्यास खेल खेलेको थियो।
कप्तान वर्माका अनुसार अभ्यास खेलले बलिया प्रतिद्वन्दीसँग कसरी प्रतिस्पर्धा गर्ने र खेललाई आफ्नो पक्षमा पार्ने महत्वपूर्ण अनुभव दिएको छ।
कार्यक्रममा सहभागी नामिबिया, अमेरिका लगायतका टोलीका कप्तानहरूले पनि अभ्यास खेलमार्फत नेपाली पिच र मैदानको अवस्था बुझ्न सहयोग पुगेको भन्दै यसले प्रतियोगिताका लागि उत्कृष्ट तयारी बनेको प्रतिक्रिया दिएका छन्।
आजदेखि सुरु हुने यस प्रतियोगितालाई नेपाली महिला क्रिकेटका लागि ऐतिहासिक अवसरका रूपमा हेरिएको छ।

