काठमाडौँ – राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ। बैठक बिहान ११ः०० बजेबाट प्रारम्भ हुने कार्यतालिका तय गरिएको छ। नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएपछि यसपटक अधिवेशन सङ्घीय संसद् सचिवालय सिंहदरबारमा सञ्चालन गरिने भएको छ।
अधिवेशनको तयारीस्वरूप राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका छन्। पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। साथै हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गरिनेछ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशन सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आइतबार बिहान ११ः०० बजेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका हुन्।
यसअघि गत भदौ ३१ गते राष्ट्रियसभाको १८औँ अधिवेशन अन्त्य भएको थियो।
यसैबीच निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रियसभाका १९ सदस्यका लागि निर्वाचनको तयारी गरिरहेको जनाएको छ। आयोगका अनुसार एक जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्। प्रतिनिधिसभा निर्वाचनको तयारी अघि बढिरहेको र राष्ट्रियसभामा पनि नयाँ सदस्यहरू निर्वाचित भएर आउने सन्दर्भमा यो अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ।

