काठमाण्डौ – भेनेजुएलाका अन्तरिम राष्ट्रपतिले निकोलस मदुरोका नजिकका सहयोगी मानिने व्यापारी एलेक्स साबलाई उद्योगमन्त्री पदबाट बर्खास्त गरेका छन्। राष्ट्रपति डेल्सी रोड्रिगेजले टेलिग्राममार्फत सन्देश जारी गर्दै उद्योग मन्त्रालयलाई वाणिज्य मन्त्रालयसँग गाभिने निर्णय गरिएको जानकारी दिएकी छन्।
सन्देशमा रोड्रिगेजले कोलम्बियामा जन्मेका भेनेजुएलाली नागरिक साबलाई “मातृभूमिका लागि उहाँले पुर्याएको सेवाको कदर गर्दै नयाँ जिम्मेवारी दिइने” उल्लेख गरेकी छन्। तर उक्त नयाँ जिम्मेवारी के हुने भन्नेबारे स्पष्ट पारिएको छैन।
जनवरी ३ मा पूर्व शासक मदुरोलाई सत्ताच्युत गर्दै अमेरिकी सेनाले हस्तक्षेप गरेपछि वासिङ्टनको दबाबमा यो निर्णय आएको बताइएको छ।
संयुक्त राज्य अमेरिकासँग भएको कैदी आदानप्रदानको प्रक्रिया अन्तर्गत सन् २०२३ मा रिहा भएका साबलाई मदुरो सरकारले सन् २०२४ मा उद्योग मन्त्रालयको जिम्मेवारी दिएको थियो।
एलेक्स साबलाई समाजवादी नेता मदुरोका लागि अवैध रूपमा सम्पत्ति शुद्धिकरण गरेको आरोपमा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सूचनाका आधारमा सन् २०२० मा केप भर्डेबाट पक्राउ गरिएको थियो। त्यसपछि उनलाई अमेरिका सुपुर्दगी गरिएको थियो। अमेरिकामा उनी र उनका व्यापारिक साझेदार अल्भारो पुलिडोमाथि भेनेजुएलाका लागि तय गरिएको खाद्य सहायता कार्यक्रमको दुरुपयोग गर्दै भ्रष्ट सञ्जाल सञ्चालन गरेको आरोप लागेको थियो।
यसैबीच, अमेरिकाले निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएपछि राष्ट्रपति रोड्रिगेजले सरकारका विभिन्न पदमा फेरबदल गर्दै आएको यो पछिल्लो महत्वपूर्ण निर्णय मानिएको छ।
उता, भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले देशले “वास्तविक प्रजातान्त्रिक सङ्क्रमण” सुरु गरिरहेको दाबी गर्दै संयुक्त राज्य अमेरिका तथा राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा देश स्वतन्त्रताको बाटोमा अघि बढिरहेको बताएकी छन्।
यद्यपि, राष्ट्रपति ट्रम्पले नोबेल पुरस्कार विजेता मचाडोलाई तत्काल नेतृत्वमा ल्याउने विषयलाई भने हालका लागि किनारा लगाएको जनाइएको छ। मदुरोलाई नियन्त्रणमा लिएपछि ट्रम्पले तेलसम्पन्न भेनेजुएलाको अन्तरिम नेताको रूपमा पूर्व उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई समर्थन गरेका छन्।

